बेलायती अधिराजकुमारी भक्तपुरमा

 
भक्तपुर । बेलायती राजकुमार एडवार्डकी श्रीमती अधिराजकुमारी सोफिया बुधबार बिहान भक्तपुर आइपुगेकी छन्। नेपाल भ्रमणमा रहेका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया फरक-फरक कार्यक्रम अन्तर्गत नेपाल आएका हुन्। सोफिया विशेष रूपमा भक्तपुर अस्पताल अवलोकन गर्न आइपुग्नु भएको हो।
 
भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, सोफियाले अस्पतालको प्रशुती विभाग अवलोकन गरेकी छन्। बेलायती सरकारको सहयोगमा निर्माण भएको भक्तपुर अस्पतालको नयाँ भवन बेलायती राजपरिवारको चासोमा पर्ने भएकाले यो भ्रमण तय भएको हो। नेपालस्थित बेलायती राजदूतावासको समन्वयमा सोफियाको भ्रमणको व्यवस्था मिलाइएको थियो।
 
स्वास्थ्य सेवाप्रति विशेष चासो राख्ने सोफियाले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमसँग भेटवार्ता गर्दै भक्तपुर अस्पतालसहित प्रदेशका अन्य अस्पतालहरूले प्रदान गरिरहेको स्वास्थ्य सेवाबारे जानकारी लिएकी छन्। मन्त्री थापा र सचिव डा. गौतमले बागमती प्रदेशका स्वास्थ्य संरचना, आम नागरिकलाई प्रदान गरिने सेवाहरू, स्वास्थ्य क्षेत्रमा हालका सुधार प्रयास, र भविष्यका योजनाबारे सोफियालाई विस्तृत रूपमा जानकारी गराएका छन्।
 
भक्तपुर अस्पतालको भ्रमणपछि सोफिया ऐतिहासिक भक्तपुर दरबार क्षेत्रतर्फ लाग्ने कार्यक्रम रहेको छ। भक्तपुर दरबार क्षेत्र नेपालको समृद्ध सांस्कृतिक सम्पदा मध्येको एक हो, जुन युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। सोफियाले दरबार क्षेत्रमा रहेका मल्लकालीन दरबार, मन्दिरहरू, मूर्तिकला, काठकला, र त्यहाँको जीवनशैली अवलोकन गर्नेछिन्।
 
यस भ्रमणका क्रममा स्थानीय संस्कृतिविद् रविन्द्र पुरीले बेलायती पाहुनाका लागि विशेष लन्चको व्यवस्था मिलाएका छन्। सोफिया र उनको टोलीलाई भक्तपुरको परम्परागत नेवारी परिकार चखाउने तयारी गरिएको छ। स्थानीय समुदायका व्यक्तिहरूसँगको भेटघाटका क्रममा उनले भक्तपुरको ऐतिहासिक सम्पदा, स्थानीय कला, संस्कृति, र बेलायत-नेपाल सम्बन्धका बारेमा जानकारी लिने अवसर पाउनेछिन्।
 
नगरपालिकाको तर्फबाट भने यसपटक औपचारिक स्वागत कार्यक्रम तय गरिएको थिएन । पर्यटन विभाग प्रमुख गौतम लासिवाका अनुसार, राजकुमार एडवार्डको भ्रमण व्यक्तिगत पारिवारिक भ्रमण भएकाले नगरपालिकाले कुनै विशेष औपचारिक कार्यक्रम नराख्ने निर्णय गरेको हो।
 
बेलायती राजपरिवारका प्रभावशाली सदस्यहरूमध्ये एक राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाको नेपाल भ्रमणलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई बलियो बनाउन, सांस्कृतिक आदान-प्रदानलाई प्रवर्द्धन गर्न, र नेपालको स्वास्थ्य तथा पर्यटन क्षेत्रमा बेलायती चासो बढाउने हिसाबले यो भ्रमण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। भक्तपुरका स्थानीय व्यापारी तथा पर्यटन व्यवसायीहरू पनि यस भ्रमणबाट उत्साहित छन्। उनीहरूलाई आशा छ कि बेलायती राजपरिवारका सदस्यहरूको नेपाल भ्रमणले अन्तर्राष्ट्रियस्तरमा भक्तपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।
 
नेपाल र बेलायतबीचको सम्बन्ध करिब २०० वर्ष पुरानो छ। इतिहासलाई हेर्दा, बेलायती सरकार नेपालमा विभिन्न पूर्वाधार, स्वास्थ्य, शिक्षा, र सांस्कृतिक संरक्षणका क्षेत्रमा सहयोग गर्दै आएको छ। भक्तपुर अस्पतालको नयाँ भवन निर्माणमा बेलायती सरकारको सहयोग रहेको हुँदा सोफियाको भ्रमणले नेपाल-बेलायत साझेदारी अझ मजबुत हुने विश्वास गरिएको छ।
 
 
बेलायती राजकुमार डुयक अफ एडिनब्रा एडवार्डका श्रीमती डचेस सोफीको नेपालको  भ्रमणले पर्यटन, संस्कृति, र अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। स्थानीय समुदाय, सरकार, र सम्बन्धित निकायहरूले यस भ्रमणलाई फलदायी बनाउन तत्परता देखाएका छन्।