नेकपा(माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिइभिटि) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा उपाध्यक्ष(महिला) मा सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा प्रदिप श्रेष्ठ एवं त्रिचन्द्र खराल निर्वाचित भएका निर्वाचन समितिका सदस्य प्रकाश अवालेले बताए ।
कार्यसमितिको महासचिवमा खिमबहादुर परियार निर्वाचित भएका छन् भने सचिवहरू पवन दाहाल, शरद कुमार शर्मा र नारायण अधिकारी रहेका छन् । कार्यसमितिको कोषाध्यक्षमा प्रकाश पोखरेल निर्वाचित भएका बताइएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मातहतका कार्यालय र शिक्षालयमा रहेका संगठनबाट करिब १ सय ९० महाधिवेशन प्रतिनिधि छनौट भई आएका निवर्तमान अध्यक्ष तेजबहादुर खत्रीले जनाए । महाधिवेशनमा प्रतिनिधि, अतिथि र पर्यवेक्षकसहित करिब ५ सयको संख्यामा सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठको प्रमुख आतिथ्यतामा बन्द सत्र सम्पन्न भएको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको कार्यालय परिसरमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले कर्मचारीतन्त्रको सहयोग बिना ब्यवस्था बलियो बन्न नसक्ने बताएका थिए । उनले नेपाल राष्ट्रिय कर्मचारी संगठन बलियो बने जनताको पक्षमा कामहरु हुने र ब्यवस्था प्रति जनताको आकर्षण बढ्ने बिश्वास ब्यक्त गरेका थिए । त्यसका लागि जागीरे मानसिकता बाट माथि उठ्न उनले बैचारिक प्रशिक्षण समेत दिएका थिए ।