पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् ।

बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्।

पुरस्कृत हुने दाहाल जनप्रवाह साप्ताहिकका सम्पादक हुन् भने पोखरेल नेपालखबर डट्कमका उप सम्पादक रहेका छन् । पुरस्कारमा नगद रकमसहित सम्मान-पत्र रहेको प्रेस सेन्टर ललितपुरका निवर्तमान अध्यक्ष रामहरि कार्कीले जनाएका छन् ।

सो अवसरमा पत्रकारहरु सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ, राममणि घिमिरे र गोकर्ण बराललाई ‘ललितपुर पत्रकारिता सम्मान’ पनि प्रदान गरिएको छ ।

पुरस्कार र सम्मान प्रदान गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले एक हातमा कलम र अर्को हातमा बन्दुक बोकेको बिरासत भुल्न नहुने बताएका छन् । प्रेस सेन्टर नेपाल प्रति श्रमजीवी पत्रकारको आकर्षण बढ्नुमा यसको क्रान्तिकारी चरित्र नै प्रमुख भएको र त्यसैको प्रतिफल युनियन चौतारी गठबन्धन विरुद्ध नेपाल पत्रकार महासंघमा ऐतिहासिक जीत हासिल भएको उनको भनाइ छ ।

अध्यक्ष जुगलले जनपक्षीय पत्रकार हुनुका नाताले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले जनताको आवाज बोल्न सक्नुपर्ने र राज्यलाई समाजबाद तर्फ लैजान सक्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मिलन नेपालीकी पत्नी सविता बस्नेत, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, महिला उपाध्यक्ष गङ्गा बराल, उपाध्यक्ष एवं उपत्यका इन्चार्ज निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, उपमहासचिव एवं नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रदेश अध्यक्ष नवराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनले दीपक अर्यालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष रामहरि कार्कीले जनाएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा कृष्ण पौडेल र उषाकुमारी काफ्ले निर्वाचित भएका छन् । सचिवमा सागर देवकोटा निर्वाचित हुँदा सहसचिवमा रोशन लामा र विसु गुरुङ तथा कोषाध्यक्षमा मनबहादुर बिक निर्वाचित भएका उनले बताए ।