भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारको ध्यान कृषि क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औंल्याएका छन्। भक्तपुर उद्योग वाणिज्य संघको ३७औं वार्षिक साधारण सभा उद्घाटन गर्दै सुवालले कृषि प्रधान देश भए तापनि चामल जस्ता खाद्यान्नमा भारतमा निर्भर हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले प्रश्न गरे, “भारतले दाल चामल पठाएन भने के हामी ढुङ्गा खाएर बस्ने?”
सुवालले खाद्यान्नमा आत्मनिर्भरता कायम गर्न देशले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन। साथै, उनले सहर केन्द्रित बसाइसराईलाई चिन्ताको विषय मान्दै यसलाई जिल्लामै सीमित गर्नुपर्ने आवश्यकता औंल्याए। “सन्तुलित विकासले बसाइसराई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।
साथै उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौवन्जाले संघको योगदानको महत्त्व र जिल्लामा औद्योगिक विकासको निरन्तरता सुनिश्चित गर्न संघ प्रतिबद्ध रहेको बताइन्। उनले कृषि, पर्यटन, र हस्तकला क्षेत्रको प्रवर्द्धनलाई संघको प्राथमिकतामा राखेको उल्लेख गरिन्। “स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन संघ विशेष पहल गर्दैछ,” उनले भनिन्।
धौवन्जाले भक्तपुरका महोत्सवहरू, विशेषगरी भक्तपुर महोत्सव र मध्यपुर महोत्सव, ले जिल्लाको औद्योगिक गतिविधि र आर्थिक समृद्धिमा नयाँ ऊर्जा थपेको बताइन्। उनले स्थानीय सरकारसँगको सहकार्यलाई व्यवसायिक वातावरण सुधार्नको लागि महत्त्वपूर्ण कदम भनेका छन्।
धौवन्जाले व्यवसायिक वातावरण सुधार्न, नयाँ लगानी भित्र्याउन र महिला उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको संघको प्रतिबद्धता दोहोर्याइन्। “हामी व्यवस्थित बसोबास परियोजना र अन्तर्राष्ट्रिय स्तरका उद्योगहरू ल्याउन प्रतिबद्ध छौँ,” उनले भनिन्।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले संघको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी योजना बनाउन सुझाव दिएका थिए।