आदर निकेतन सेवा छिटै सञ्चालन हुने बिजुक्छेँको विश्वास

भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरुलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरु सामाजका सम्पति भएका भन्दै उनीहरुका अनुभव समाजको लागि फलदायी हुने बताए ।
“ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन हुन्छ ।” उनले भने ।
परिवार र समाजबाट वृद्धवृद्धाहरु अपहेलित र टाढिने क्रम बढिरहेकोमा चिन्ता प्रकट गर्दै उनले भक्तपुर नपाले ज्येष्ठ नागरिकको लागि आदर निकेतन सेवा छिटै सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे । स्थानीय तहका जनप्रतिनिधिहरुले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहको तथ्यांक संकलन गरी आवश्यक सेवा सुविधा प्रदान गरी सहयोगी भूमिका खेल्नुपर्ने उनको सुजाव छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिकको सम्मान गनु कर्तव्य र जिम्मेवारी भएको प्रष््ट पारे ।
उमेर बढेसँगै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा समस्या आउने, ढाड दुख्ने, खुट्टा दुख्ने जस्ता शारीरिक समस्याहरु बढ्दै जाने बताउँदै उनले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा पुर्याइएको बताए ।

नेमकिपाको आह्वानमा भएको तत्कालीन मोहियानी हक सुरक्षाको आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलनमा लगायतका आन्दोलनमा अग्रजहरले भाग लिएका कारण किसानहरुले मोहियानी हक र गुठी जग्गा रैतानीको हक पाएका उनको भनाइ छ ।

सो अवसरमा उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष रविन्द्र ज्याख्व, कार्यपालिका सदस्य रोशनमैंया सुवाल र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल लगायतले ज्येष्ठ नागरिकहरुका लागि उपलब्ध सेवा सुविधाबारे बताए ।

भक्तपुरमा नगरपालिकामा सामाजिक सुरक्षा प्राप्त गर्ने ज्येष्ठ नागरिकहरुको संख्या ४ हजार ९ सय २४ जना रहेको नगरपालिकाले जनाएको छ ।