जनप्रतिनिधिको तलब र भत्ता, बालबालिकालाई पोशाक र जुत्ता

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् ।

आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग गरिरहेका हुन् ।

पत्रकारहरु संग आफ्नो दुई वर्षको कार्यकालको अनुभव बाड्दै उपप्रमुख बुढाथोकीले दुई वर्षमा करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको बताए । तलब भत्ताबाट नपुगेर खल्तीबाट समेत सहयोग गरिरहेको उनको भनाइ छ ।

सरकारी नियम अनुसार कर कट्टा गरेर मासिक पाउने करिब ३० हजार र  प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता सबै सामाजिक कार्यमा खर्च गरेको विवरण उनले पत्रकार सामु प्रस्तुत गरेका छन् ।

”मैले पार्टीबाट उम्मेद्वारी दावी गर्ने बेलामा नै कुनैपनि सेवा सुविधा लिन्न भनेको थिए, अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने साना बाबु नानीहरुलाई झोला, पोशाक, जुत्ता, स्टेसनरी लगायत आवश्यक सहयोगमा सो रकम सदुपयोग गरिरहेको छु ।” उनले भने ।

नगर उपप्रमुख बुढाथोकीले नगरपालिकाले आफ्नो लागि उपलब्ध गराएको गाडी पनि नगर अस्पतालका असक्त र बिरामी जेष्ठ नागरिक तथा सुत्केरी बोक्नको लागि दिएका छन् । उनले घरदैलो उपचार सेवाका लागि अस्पतालले सो गाडी प्रयोग गरिरहेको बताए । असक्त, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार गरिने जानकारी गराउदै बुढाथोकीले त्यस्तो सुविधा नपाएको भए जानकारी गराउन समेत आग्रह गरेका छन् । उनले दुई वर्षमा आफूले सरकारी सुविधाको नाममा १ सवारी चालक मात्र लिएको र आफ्नै निजी सवारी प्रयोग गरी नगरपालिकाको काम गरिरहेको जानकारी गराए ।