भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो ।

चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको थियो ।

ज्यान गुमाउनेमा सो स्थानमा २ वर्ष देखि टहरा बनाई बस्दै आएका मजदुर २८ वर्षीय सन्देश सुनुवार र उनका काका वर्ष ४६ का दिपक सुनुवार रहेका छन् । रामेछापको उमाकुण्ड गाँउपालिका वडा नं. ४ घर भएका सुनुवार द्वय भाडामा लिएको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्की निसास्सिएका स्थानीयले बताएका छन् । अचेत अवस्थामा रहेका उनीहरुलाई बिपद् ब्यवस्थापन महाशाखा, काठमाण्डौबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जना, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली पुगी उद्धार प्रयास गरेका र पौने ३ बजे मात्र उद्धार गरी अस्पताल लग्न सकिएको बताइएको छ । उद्धार टोलीमा जुद्ध बारुण यन्त्र, आरएनए १६ र स्थानीयको समेत सहभागिता रहेको थियो ।

अचेत अवस्थामा भक्तपुर अस्पताल पुर्याइएका उनीहरुको ज्यान बचाउन नसकिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले पुष्टि गरेका हुन् । दिउँसो करिब साढे ३ बजेको समयमा सम्बन्धित चिकित्सकले उनीहरुलाई मृत घोषित गरिदिएका डिएसपी कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताएका छन् ।

फोटो : उद्धार प्रयासमा उद्धारकर्ता