क्षयरोग नियन्त्रणमा उत्कृष्ट काम गरेको हरिवनलाई राष्ट्रिय सम्मान

भक्ती रिजाल, सर्लाही । क्षयरोग मुक्त गर्न अभियान संचालन भइरहेका नगरपालिका मध्ये सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट घोषित भएको छ । कामको मुल्यांकनको आधारमा हरिवन  देशकै उत्कृष्ट नगरपालिका घोषित भएको हो ।

विश्व क्षयरोग दिवस २०२४ को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले हरिवन नगरपालिकालाई क्षयरोग निवारणमा उत्कृष्ट घोषित  गर्दै सम्मान गरेको हरिवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बाबु चौधरीले जानकारी दिएका छन् ।

विश्व क्षयरोग दिवस, २०२४को अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमी, भक्तपुरले आयोजना गरेको विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डक्टर रोशन पोख्रेलले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीलाई  प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उक्त अवसरमा सचिव पोख्रेलले रोग नियन्त्रणमा स्थानीय तहको भूमिकाको प्रशंंसा गरे । नगर प्रमुख बुढाथोकीले भने कामको मूल्यांकन हुँदा प्रसन्नता प्रकट गरेका छन् । उनले अभियानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रत्येक क्षेत्रमा उत्कृष्टता कायम गर्न अभिप्रेरित गरेका छन् । स्वास्थ्य नै धन भएको भन्दै नगर प्रमुख बुढाथोकीले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको प्रष्ट पारेका छन् ।

 
Loading...