गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै भक्तपुरको अधुरा विकास निर्माणका कार्यहरुले पनि आफ्नै कार्यकालमा पूर्णता पाउने बताए । उनले बालकाेट बिरुवा सडककाे निर्माण कार्यमा कुनै कमजोरी नगर्न पूर्वाधार बिकास कार्यालय र सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिंदै ठेक्का सम्झौता बमोजिम गुणस्तरीय निर्माण कार्य हुनुपर्नेमा जोड दिए ।

अनुगमनमा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले निर्माण कार्य सम्पन्न हुनेक्रममा रहेको पाउँदा सन्तोष व्यक्त गरे । सडक निर्माणले यस क्षेत्रमा सुविधा बिस्तार मात्र नभई पर्यटन प्रवर्द्धन र कृषी उत्पादनको बजारीकरणमा समेत मद्दत मिल्ने उनले बिश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएलगत्तै ढकालले भक्तपुर अस्पतालमा सिटि स्क्यान मेसिन खरिदका लागि ८ करोड, चाँगुनारायण फास्ट ट्रयाकको लागि बहुबर्षीय योजना २० करोड, कौशलटार बिरुवा सडकको लागि १२ करोड लगायतका थुप्रै योजनामा पहलकदमी लिएका छन् ।

अनुगमनका क्रममा सो क्षेत्रका पूर्व संघीय सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले बागमती प्रदेश सरकारले बिकासनिर्माणमा लिएको पहलको प्रशंसा गरे । देश प्रादेशिक संरचनामा गएपछि बिकासनिर्माणमा तीब्रता आएको र जनताले संघीयताको स्वाद पाएका उनको भनाइ छ । भक्तपुरको बिकास र सम्बृद्धिका लागि आफू सदैव लागिपरेको जानकारी गराउदै उनले राजनीतिमा प्रतिस्पर्धा भएपनि बिकासमा एकता हुनुपर्नेमा जोड दिए । नयाँ सत्ता गठबन्धन बनेसंगै नेकपा (माओवादी केन्द्र)का नेताहरुलाई स्वागत गर्न नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत आफैं उपस्थित थिए ।

अनुगमनमा बागमती प्रदेश सभा सदस्य किरण थापा, भुवनकेशरी श्रेष्ठ भावना र सकुन्तला थापाको समेत उपस्थिति रहेको थियोे । प्रदेश सभा सदस्य भन्न गर्व लाग्ने गरी प्रदेश सरकारको काम गरिरहेको प्रति उनीहरुले सन्तोष व्यक्त गरेका छन् । बिकास निर्माणको अनुगमनमा मन्त्री दुलाल र मुख्य मन्त्रीका प्रमुख सल्लाहकारले देखाएको चासोले निर्माण गुणस्तरीय हुने उनीहरुले बिश्वास व्यक्त गरेका छन् ।

उक्त अवसरमा वडा अध्यक्ष सानुकाजी कायस्थ, स्थानीय नेता रुपेश कायस्थ, दामोदर थापा, राजन थापा, सुदर्शन बुढाथोकी लगायतले सडक निर्माणको अवस्थाबारे अवगत गराएका थिए भने निर्माण कम्पनीका संचालक रामेश्वर थापाले सोबारे बिस्तृत जानकारी गराएका थिए ।

थापाले हालसम्म ८० प्रतिशत कार्य सम्पन्न भैसकेको र बाँकी कार्य समय भित्रै सकिने समेत जानकारी गराए । सम्झौता बमोजिम गुणस्तरीय निर्माण कार्य भैरहेको उनको भनाइ छ ।

उक्त सडक स्तरोन्नतीका लागि बागमती प्रदेश सरकारले १२ करोडको बहुबर्षिय योजना स्वीकृत गरेको थियो । आयोजनाको ठेक्का भइ निर्माण कम्पनी भण्डारी अमरज्योतीले ९ करोड १६ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य गर्दै आइरहेको पुर्वाधर बिकास कार्यालय काभ्रेका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले जानकारी दिएका छन् ।

गतवर्षको बहुवर्षे ठेक्का अनुसार सडक विस्तार, स्तरोन्नती र कालोपत्रेका साथै ढल तथा फुटपाथको पनि काम भैरहेको पुर्वाधर बिकास कार्यालय काभ्रेका कार्यालय प्रमुख राजु श्रेष्ठले बताएका छन् ।

Loading...