भक्तपुर । भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले पत्रकारिता दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताए । “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सक्नुपर्छ ।” उनले भने ।
विगतमा आफूले पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै नगएको जिकिर गर्दै उनले आफूले गरेको पत्रकारिताको वकालत गरे । पत्रकारले जनताको दुःख, दर्दलाई सही ढंगबाट उजागर गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
आफूले पत्रकारिता गर्दा जनताको पक्षमा भएकाले आम जनताले न्यानो माया प्रदान गरेको दावी गर्दै उनले आफू लाई पत्रकार हुँदा नेतालाई आलोचना गर्ने र आफू नेता हुँदा पत्रकारलाई आलोचना गर्ने आरोप निराधार भएको जिकिर गरे ।“मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका हरेक प्रश्न, लाञ्छनाको जवाफदिन तयार छौं“ उनले भने ।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा मिडिया व्याग्राउन्डबाट उठेको पार्टी भएको भन्दै रास्वपाले जनताको सही मुद्दालाई कहिल्यै नछोड्ने प्रतिबद्धता प्रकट गरेका छन् ।
त्यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जनतालाई सुसुचित गर्ने सन्दर्भमा सञ्चारकर्मीहरू भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गरिन् ।
कार्यक्रममा स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई यसैगरी रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पत्रकार कृष्ण किसी र नेपाल टेलिभिजनका दिलिप थापा मगरलाई सम्मान गरिएको क्लबका अध्यक्ष शुशिलबन्धु थापाले बताएका छन् । यस्तै कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई पनि सम्मान गरिएको उनले जानकारी गराए ।
स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कार तथा कल्पना स्मृति प्रतिष्ठानका संरक्षक प्रेमबहादुर थापाले देश र जनाताको पक्षमा काम गर्दै आएका व्यक्तित्वलाई सम्मानित गर्न पाउँदा सन्तोष मिलेको र यसलाई निरन्तरता दिइने बताएका छन् ।