बागमतीका नवनियुक्त मन्त्री जम्मकट्टेल र लामाले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल तेस्रो वरियतासहित आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । उनै जम्मकट्टेल तत्कालीन नेकपाको सरकार हुँदा दोस्रो वरियतासहित आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

कांग्रेस संसदीय दलका सचिव लामा स्वास्थ्यमन्त्री बनेका छन् ।

बागमतीमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको गठबन्धन सरकार छ । पाण्डेले सरकार गठन भएको १४ दिनसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सकेका छैनन् । पाण्डेले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कृष्णप्रसाद खनाल, भौतिक पूर्वाधार विकास मन्त्रालयमा कृष्णलाल भडेल र कुमारी मोक्तानलाई सामाजिक विकासमन्त्री बनाएका थिए ।

कांग्रेसभित्रको विवादमा रुमलियो लामाको मन्त्री पद

नवनियुक्त स्वास्थ्यमन्त्री लामा सपथका लागि बिहीबार सिन्धुपाल्चोकबाट हेटौँडा आइपुगे । आजै मुख्यमन्त्री पाण्डेले जम्मकट्टेल र लामालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

जसमध्ये कांग्रेसभित्र लामालाई मन्त्री बनाउन लागेको विषयमा विवाद भयो । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पार्टीको सहमतिबिना लामालाई मन्त्री बनाउन लागेको भन्दै अन्य सांसद रुष्ट भएको स्रोतले जानकारी दिएको छ ।

‘पार्टीभित्र सहमतिबिना लामालाई मन्त्री बनाउन खोजेपछि विवाद भएको हो । इन्द्रबहादुर बानियाँले एकलौटी निर्णय गरेर मात्रै हुँदैन संसदीय दलमा छलफल हुनुपर्छ भनेर आवाज उठेको हो,’ कांग्रेसका एक प्रदेश सांसदले भने ।

पार्टीभित्र विवाद भएपछि लामाले बिहीबार शपथ लिने सम्भावना कम भएको बताइएको थियो । कांग्रेस संसदीय दलले लामाको नाम सिफारिस नगरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जम्मकट्टेलको मात्रै नाम प्रदेश प्रमुख कार्यालय पठाएको थियो ।

पछि नेता बानियाँले विवाद मिलाएर लामाको नाम मुख्यमन्त्रीलाई पठाएको स्रोतले जानकारी दिएको छ । कांग्रेसको विवादकै कारण शपथ पूर्वनिर्धारित समयभन्दा ढिला भएको थियो ।

मन्त्रिपरिषद् विस्तारलाई लिएर कांग्रेसभित्र विवाद बढेको एक प्रदेश सांसदले बताए । कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएकाले विवाद बढेको उनको भनाइ छ । नेता बानियाँले पार्टीभित्र धेरै आकांक्षी भएकाले जम्बो मन्त्रिपरिषद्को लागि मुख्यमन्त्री पाण्डेललाई दबाब दिएको स्रोतको दाबी छ ।

मन्त्रालय भागबण्डा मिलाउन पाण्डेले १२ वटा मन्त्रालय बनाउने तयारी गरेका छन् । हाल ८ वटा मन्त्रालय रहेको बागमतीमा भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने तयारी छ ।

Loading...