कोरेन्टाईन, भेन्टिलेटर र आइसियू बेड संख्या बढाउन सरकारसँग सत्तारुढ दलकै माग

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले भेन्टिलेटर, क्वारेन्टाइन, आइसोलेसन सेन्टरका साथै आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन माग गरेको छ ।

आइतबार बुटवलमा बसेको पार्टीको बिस्तारित बैठकले कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि पहल लिन त्यस्ता व्यवस्थाहरु गर्नुपर्नेमा जोड दिएको हो । बैठकपछि बोल्दै नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र सबै राजनैतिक दल तथा सामाजिक संस्थाहरू मिलेर यो लडाई जित्नु पर्ने बताए । बैठकले कोरोना महामारीमाथि विजय प्राप्त गर्न अपनाउनुपर्ने उपायबारे बिस्तृत छलफल गरिएको उनले बताए ।

प्रवक्ता चापागाईले स्थानीय पालिकाहरूलाई समयमै क्वारेन्टाईन र आईसोलेशनको क्षमता बढाउन आग्रह गर्ने र स्थानीय तहका लागि आवश्यक पर्ने सहयोग गर्नेबारे पनि बैठकमा निर्णय भएको जानकारी दिए । त्यसैगरी बैठकले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसियू सहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

जिल्ला समितिको बिस्तारित बैठकमा पार्टीका केन्द्रीय सदस्य लिला गिरी, जिल्ला सहईन्चार्ज एकराज विक, प्रदेश कमिटी संगठन बिभाग प्रमुख भूमिश्वर ढकाल, प्रदेश कमिटी सदस्य पुरन गुरूङ, जिल्ला अध्यक्ष शिवराज सुवेदी, जिल्ला कमिटी सचिव निर्मल जिसीलगायतले आआफ्नो धारणा राखेको पनि प्रवक्ता चापागाईले जानकारी दिए ।

Loading...