एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार बेहोरेको छ ।
शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो ।
उसका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए । सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।
सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् । उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।
जमैकाले लगातार दोस्रो खेलमा पनि हार बेहोरेपछि तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ ।