अचानक समस्या आएपछि लामिछानेले गरे आँखाको अप्रेशन, साग खेल्न नपाउने

काठमाडौं ।  नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले मंसिर १५ देखि नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन्। आँखाको शल्यक्रिया गरेका कारण सन्दीपले साग गुमाउने भएका हुन्।

सन्दीपको सोमबार बिहान ११ बजे तिलगंगा आँखा अस्पतालमा आँखाको लेजर शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि डाक्टरले सन्दीपलाई १५ दिन आराम गर्न सल्लाह दिएका छन्। ५ महिनाअघि नै सन्दीपको आँखामा समस्या देखिएको थियो।

जचाउँदा उनमा टाढाको वस्तु देख्न समस्या रहेको भन्दै डाक्टरले चस्मा प्रयोग गर्न सुझाएका थिए । तर, सन्दीपले चस्मा नलगाउनका लागि लेजर शल्यक्रिया गराएका हुन्। सन्दीपले साग गुमाउने भए पनि उनको अन्तर्राष्ट्रिय कार्यतालिकामा असर नपर्ने उनका सहयोगी रमन सिवाकोटीले जानकारी दिए ।

सागमा अब उनको स्थानमा बैकल्पिक खेलाडीमा रहेका रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल मध्ये एकले मौका पाउनेछन् । पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको छ। नेपाल र श्रीलङ्काबीचको खेल यही मङ्सिर १७ गते हुनेछ‍। टेस्ट टिमका यु–२३ टिम सहभागी हुनेछन् ।

सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन्। यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन्। भारत र पाकिस्तान भने सहभागी छैनन्।

त्यसैगरी नेपालले मङ्सिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ। नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन्। यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

Loading...