भारतीय ज्यादती, १७ स्थानमा सीमा मिचेर लगाउँछन खेतीपाती

बारा १० मंसिर। नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ । बारासँग जोडिएका दशगजा क्षेत्रका १७ स्थानमा भारतबाट सीमा मिचेर व्यापार सञ्चालन भइरहेको छ ।

मटिहर्बामा दशगजामै व्यापारिक सटर मस्जिद र खुल्ला व्यापार सञ्चालन भएका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको तथ्यांक अनुसार बाराका ९४ सीमास्तम्भ खोलाले बगाएको छ भने र ६९ स्तम्भ सीमा क्षेत्रमै हराएका छन् ।

त्यस्तै कतिपय मर्मत र पुनर्निमाण गर्नुपर्ने अवस्थामा छन् । हराएका ६९ वटा सीमा स्तम्भमा दशगजा क्षेत्रलाई नै मेटेर खेती गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र पोखरेल भने यस विषयमा आफूहरुले सम्बन्धित निकायमा जानकारी गराइसकेकाले छिट्टै सर्वे टोली आउने र निरीक्षणलगायतका काम गर्ने बताउँछन् ।

भारतको बिहारमा मदिरामाथि प्रतिबन्ध लगाइएपछि भारतीयले दशगजा कब्जा गरी मटिहर्बामा मदिरा पसल खोले पनि दुवै देशले त्यसको प्रतिकार गर्न सकेका छैनन् । यस सम्बन्धमा नेपाली पक्षले दशगजामा व्यापार नगर्र्न आग्रह गरेको थियो । तर त्यसलाई बेवास्ता गर्दै भारतीय पक्षले दशगजाको खाली जग्गामा व्यापार थालेको हो ।

केही समयअघि खुल्ला रहेको दशगजा क्षेत्र भारतले कब्जा गरेपछि ट्याक्टर समेत गुडाउन नसकिने अवस्थामा पुगको स्थानीय रमेश साहको भनाइ छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिसुकाले बाराका गोलागञ्ज, पिपरपाती, बेल्दारी, कबहिगोठ, मटिअर्बा, र बैरेनीयाका ६ वटा पोष्ट बिओपीमार्फत् सीमा सुरक्षा गरिरहेको छ ।

सशस्त्र प्रहरीले आफ्ना उपल्ला निकायलाई यसबारे जानकारी गराएपनि कुनै प्रतिक्रिया नआएको जनाएको छ ।  सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्रमा कुनै पनि राष्ट्रले भौतिक पूर्वाधार निर्माण गर्न नमिल्ने भएपनि त्यसलाई उल्लंघन गरिएको छ ।

Loading...