राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो ।

शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताएका छन् । उक्त छलफलमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भने उपस्थिति नरहेको बताइएको छ ।

बैठकमा नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिव झपेन्द्र गैरे, राष्ट्रिय जनमोर्चाका तर्फबाट विशाल दर्लामी र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष डुल बहादुर कुँवर सहभागी भएको बताइएको छ ।

बैठकमा सहभागी राष्टिय जनमोर्चाका नेता बिशाल दर्लामीले विद्रोही नेकपासँग वर्तमान राजनीतिक अवस्थाका बिषयमा छलफल भएको बताए । छलफलमा जिल्लाका विकास, भ्रष्टाचार राजनितिक वस्तुस्थितिका बारेमा गम्भीर छलफल भएको पनि उनले जानकारी दिए । अरु थप के के छलफल भयो भन्ने खुलाउन भने उनले चाहेनन् । नेता दर्लामीले बैठक कुन ठाउँमा भएको हो भन्ने पनि खुलाउन चाहेनन् ।

उक्त बैठकमा विद्रोही नेकपाका तर्फबाट जिल्ला ईन्चार्ज पूर्ण सिंहसहित करिब एक दर्जन जिल्ला स्तरीय नेता कार्यकर्ता पनि सहभागी रहेको थाहा भएको छ ।

विद्रोही नेकपाले देशव्यापी रुपमा सबै राजनीतिक दलसँग राजनीतिक संवाद थाल्ने बुझिएको छ ।

Loading...