किर्ते आरोपी वडा अध्यक्ष एक लाख धरौटीमा रिहा

हुम्ला । आफ्नो नागरिकतामा भएको जन्ममितिलाई केरमेट गरी सामाजिक सुरक्षा भत्ता खाएको आरोपमा पक्राउ परेका खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मगुसिंह बुढा एक लाख धरौटीमा रिहा भएका छन् ।

विजया बुढाको जाहेरीका आधारमा पक्राउ परेका बुढालाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको थियो । वडा अध्यक्ष बुढा खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्का गाउँका स्थायी बासिन्दा हुन् । उनको जन्म वि.सं.२०१० साल भएको नागरिकतामा उल्लेख भएको छ ।

वि.सं. २०४५ साल वैशाख १ गतेका दिनमा जिल्ला प्रशासन कार्यालय हुम्लाबाट नागरिकता लिएका थिए । तर उनले आफ्नो नागरिकतामा केरमेट गरी जन्ममिति वि.सं. २००० बनाएर सामाजिक सुरक्षा भत्ता खाएको भनेर उजुरी परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

आजै हुम्ला जिल्ला अदालतबाट उनलाई एक लाख धरौटीमा छोडिएको छ भने उनलाई लागेको मुद्धा भने जारी रहेको छ ।

Loading...