सौराहामा दुई हजारभन्दा बढी निजी विद्यालयका सञ्चालक

चितवन, १७ कार्तिक । निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)को छैटौँ राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गरेका छन् ।

‘शिक्षामा उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने बताइएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै नयाँ कार्ययोजना पनि तय गर्ने बताइएको छ । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले महाधिवेशनमा देशभर दुई हजार ५ सय विद्यालयहरु आफ्नो सदस्य रहेको जानकारी दिए । उनले महाधिवेशनमा मात्र दुई हजार प्रतिनिधि सहभागी भएको बताए ।

महाधिवेशनको उद्घाटन गर्दै उपराष्टपति पुनले सरकारी विद्यालयको खस्कँदो शैक्षिक नतिजा र निजी विद्यालयको महंगो शिक्षा प्रणाली अहिलेको चुनौतीका रुपमा रहेको बताए । उनले अबको शिक्षा प्रणालीमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए ।

उपराष्टपति पुनले संघीय र प्रदेशसभाको चुनावले देशमा संक्रमणकालको अन्त्य गर्ने दावी गरे । चुनावपछि देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने दावी गर्दै उनले भने, “निर्वाचन सम्पन्न भएपछि हामीले अगाडि सारेको आर्थिक समृद्धिको एजेण्डा अगाडि आउनेछ र संक्रमणकालको पूर्ण अन्त्य हुनेछ भन्ने हामीलाई विश्वास छ ।”

सो क्रममा उनले निर्वाचन निष्पक्ष स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण समेत गराए ।

Loading...