एकता जोगाउने नाममा पार्टीभित्र बहस छलफल रोक्न नहुने भन्दै कड्किए प्रचण्ड

काठमाडौँ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता अक्षुण राख्ने नाममा पार्टीको एकता जोगाउने नाममा पार्टीभित्र बहस छलफल रोक्न नहुने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो धारणा व्यक्त गरेका हुन् ।

उनले पार्टीमा गलत विचार र प्रवृतिहरुका विरुद्ध सधै संघर्ष चल्ने र त्यसको ढाकछोप नगरेर फर्छ्यौट गर्नुपर्ने बताए। विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुन नहुनेमा जोड दिँदै उनले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताए ।

सो क्रममा उनले आफ्नो पार्टी कुनै पनि बाहानामा विभाजन हुनु हुँदैन भन्ने आम जनताको चाहना रहेको र त्यो कुरा पार्टी नेतृत्वले राम्रोसँग बुझेको दावी गरे । उनले भने, ‘आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँ। तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनु हुँदैन। तिनको फर्छ्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ। पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनुपर्ने शिक्षा यही हो।’

सो क्रममा उनले पार्टीमा भएको छलफललाई पदसँग जोड्न खोजिएको उल्लेख गर्दै त्यसप्रति रोष प्रकट गरे । उनले समाचारहरुमा आएजस्तो पद प्राप्तिका लागि पार्टीभित्र कुनै विवाद नरहेको दावी गर्दै बहस विधि र पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा केन्द्रित रहेको बताए ।

प्रचण्डले भने, ‘पटक–पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो। अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नका लागि आफ्नोतर्फबाट सेक्रिफाइस गरिएका छन्। त्यसैले पद प्राप्तिका लागि छिनाझम्टी होइन। यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो। विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन्।’

प्रचण्डले पार्टीभित्र अहिले चलिरहेको बहसले पार्टीको एकतालाई बाधा हाल्ने नभई अझ माथिल्लो स्तरमा उठाउने र सुदृढ गर्ने दावी गरे। साथै उनले सम्पूर्ण नेता कार्यकर्ता मिलेर पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई परास्त गर्नुपर्ने उदघोष पनि गरे ।

Loading...