काठमाडौं, १७ असार । गणतन्त्रको लागि ज्यान बाजी लगाएर जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पूर्व सहकर्मी डा.बाबुराम भट्टराई र सिपी गजुरेल चुनावी मैदानमा छन् । भट्टराई नयाँ शक्ति पार्टी नेपालका प्रमुख हुन् भने गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका । भट्टराईले पार्टीलाई नै चुनावमा जोतेका छन् भने क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल क्रान्तिकारी उपयोगमा ।
जनतालाई माओवादको झण्डामा गोलवद्ध गर्दै गणतन्त्र ल्याउनसम्म एउटै नारा र झण्डामुनि रहेका दुई नेता अहिले भने राजनीतिको फरक किनारामा उभिएका छन् । गजुरेल अझैं पनि क्रान्तिकारी धारमै छन् भने भट्टराई जुन विचारलाई अात्सात गरेर राजनीतिमा लागेका थिए त्यसको विरुद्धमै उभिन पुगेका छन् ।
चर्को क्रान्तिकारी कुरा गर्ने गजुरेल र त्यस्तै चर्को अार्थिक क्रान्तिका कुरा गर्न भट्टराईले स्थानीय तहको चुनावको परिणामलाई हेरिरहेका छन्। मतदाताले न जनवादी क्रान्ति गर्ने कुरामा विश्वास गरे न त अार्थिक क्रान्तिका कुरा नै । भट्टराई चुनावमा वर्चस्व कायम गर्न भन्दै उपेन्द्र यादवसँग हात मिलाएपनि अपेक्षाकृत नतिजा अाउन सकेको छैन ।
पहिलो चरणमा वडामा सिमित भएका गजुरेलको मोर्चाले अहिलेसम्म खाता खोल्न सकेको छैन भने एउटा स्थानीय तह जितरे अार्थिक क्रान्तिको इज्जत जोगाएको नयाँ शक्तिले अहिलेसम्म जित्न सकेको छैन । संघीय समाजवादीको वर्चस्व भएका रुपन्देही र बाँकेमा खाता खोलेको छ ।
यो जितमा भट्टराईको अार्थिक क्रान्तिले काम गरेको छैन । उपेन्द्र यादवको पकड क्षेत्र हो । गठबन्धको हिसाबले त जितलाई अाफ्नो भन्न सकिएला तर वास्तवमा यो जित भट्टराईको होइन ।
दोस्रो चरणको अन्तिम नतिजा अाइनसकेपनि अहिलेसम्म नयाँ शक्ति र देजमोका उम्मेदवारले अग्रता लिएका छैनन् । यसले के देखाउँछ भने दोस्रो चरणको चुनावको नतिजा पनि पहिलो चरणको जस्तै हुनेछ ।
अाधार र तयारी विना गफले मात्र जनवादी क्रान्ति र दलाल पुँजिवादभित्र अार्थिक क्रान्ति हुने कुरा मतदातालाई विश्वास लागेन । त्यसैले भट्टराईको अार्थिक क्रान्ति र गजुरेलको जनवादी क्रान्तिलाई मतदाताले अस्वीकार गरेका छन् ।
दिल्लीका जनताले केजरीवाललाई जिताएकोबाट भट्टराई निकै प्रभावित भएका थिए । त्यही प्रभावमा परेर कम्युनिस्ट विचार नै त्यागेका भट्टराईलाई जनताले दिएको मतले धरातलीय यथार्थलाई नदेखेजस्तै गरेर नक्कले राजनीति सफल हुँदैन भन्ने देखाएको छ ।