भक्तपुर, ११ मङ्सिर । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ क मा रहेका दलहरुले आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसार आज गर्दैछन् । शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गरिनेछ । त्यसपछि मौन समय सुरु हुने भएकाले दलहरु अन्तिम प्रचारमा जुटेका छन् ।
आज चाँगुनारायण नगरपालिका–४ नारायणटारमा नेपाल कम्युनिस्ट पार्टीको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम हुँदैछ । कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ । यस्तै भक्तपुरमा कांग्रेस र राप्रपा को संयुक्त चुनावी सभा पनि रहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका थिए । सभापति देउवा र राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणालेआज भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन् । कार्यक्रम चाँगुनारायण नगरपालिका–७, वागेश्वरीको हेलमेट डाँडामा दिउँसो १ बजे सुरु हुनेछ ।
यसैगरी प्रचार प्रसारको अन्तिम दिन भएकोले नेपाल मजदुर किसान पार्टीले पनि आजै चुनावी सभा गर्दैछ । सभालाई अध्यक्ष नारायणमान बिजुक्छेंले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम कमलबिनायकमा दिउँसो ३ बजे सुरु हुनेछ ।
निर्वाचनलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन् । यस प्रदेशबाट ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा छन् । सत्तारुढ नेकपाबाट देवीप्रसाद ढकाल, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेमकिपाबाट निरज लवजु, समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मी, राप्रपाबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान लगायतका २१ जना उम्मेदवार दर्ता गराएका छन् ।