अनसनको तयारीमा अध्यक्ष प्रचण्ड

भक्तपुर, ११ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीविरुद्ध आफै आन्दोलन गर्न तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणको कामलाई ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आह्वान गर्ने र कारबाही नभए आफैं अनशन बस्ने बताए ।

मधेससँग आफ्नो लभ परेको उनले बताउँदै विकासमा ढिलाई गर्ने र आफ्ना लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने उनले बताए । ‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु’, उनी भनेका छन् ‘यदि सरकारले सुन्न गाह्रो पर्‍यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ ।

अध्यक्ष प्रचन्डले कार्यक्रममा बताए अनुसार तराई मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको हो । यो प्रक्रियामा अवरोध आएमा जनातासँगै आन्दोलनमा बस्ने बताएका छन् ।

बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिनका साथै सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिँचाइ समस्या समाधान गर्ने उनले बताए । हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न र रकमको अभाव हुन नदिनका लागि पहल गर्ने पनि उनले बताए । 

Loading...