काठमाडौँ, ११ मङ्सिर । पोखरामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्न भएको थियो । पछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा संचालन भइरहेको छ । अहिले नेकपाका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहेका छन् । विस्फोटमा ठूलो आवाज आएपनि प्रहरीले कस्तो खालको वम विस्फोट गराइएको बारे केही जानकारी दिएको छैन। विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ।