कालापानीबाट भारतीय सेना लेखेटेरै छाड्ने प्रधानमन्त्री ओलीको दावी

काठमार्डौं, १ मंसिर । कालापानीबाट भारतीय सेना फिर्ता गराएरै छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठनको एक कार्यक्रममा बोल्दै प्रम ओलीले सो दावी गरेका हुन् ।

राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालले आफ्नो एक इन्च भूमि पनि मिच्न नदिने दावी गरे । साथै उनले भारतलाई कालापानीबाट सेना फिर्ता लैजान आग्रह पनि गरे । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो धारणा सार्वजनिक गरेका हुन् । उनले नेपालको अतिक्रमित भूमि फिर्ता लिन नेपाल सक्षम रहेको दावी पनि गरे ।

ओलीले भने ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिँदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

Loading...