सत्तारुढ नेकपाका कार्यकर्ताले गरे कांग्रेस नेता रिजालमाथि ढुंगामुढा, बाटोमा रुख ढालेर तीन घन्टा थुनियो

तनहुँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालमाथि ढुंगामुढा प्रहार भएको छ । तनहुँको एक स्थानीय निकायको कार्यालय भवन उदघाटनका लागि गएका कांग्रेस नेता रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले ढुंगामुढा प्रहार गरेका हुन । कार्यक्रम स्थलमा जाँदै गर्दा उनीमाथि ढुंगामुढा प्रहार भए पनि उनलाई नलागेको बताइएको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीका नेता रिजालमाथि भएको आक्रमणको विरोध जनाएका छन् । नेता पौडेलले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ दल नै यसरी ठाउँ ठाउँमा भौतिक आक्रमणमा उत्रेर असहिष्णुतातर्फ अघि बढ्न थालेको बताए । उनले रिजालमाथिको आक्रमण मण्डले शैली भएको पनि टिप्पणी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु ।’

आइतबार कांग्रेस नेता रिजाल तनहुँको ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए । उनी गाउँपालिकाको भवन उदघाटन गर्न आउने थाहा पाएपछि नेकपाका स्थानीय कार्यकर्ताले उनलाई बाटो अवरोध गरेका थिए । बाटो छेक्न नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख नै ढालेका थिए ।

गाउँपालिकाले बनाएको भवन निर्माणमा आफ्नो पार्टीको असहमति रहेकोले त्यसको उदघाटन हुन नदिने नेकपाका कार्यकर्ताले बताएका थिए । तर, नेता रिजाल जसरी पनि आफू गाउँपालिकामा नगइ नछाड्ने अडान लिएका थिए । त्यसक्रममा उनी तीन घन्टासम्म बाटोमा छेकिनु परेको बताइएको छ ।

सत्तारुढ दलका कार्यकर्ताले रिजाललाई बाटो छेकेको र ढुंगामुढा प्रहार भएको थाहा पाएपछि नेपाली कांग्रेसका कार्यकर्ता पनि त्यहाँ पुगेका थिए । ठूलो संख्यामा कांग्रेस कार्यकर्ता पनि आइपुगेपछि नेकपाका कार्यकर्ताहरु पछि हटेको र त्यसपछि रिजाल बाटोमा ढालिएका रुख पन्छाएर गाउँपालिका पुगेका थिए ।

Loading...