पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम लक्ष्मीपूजाको दिन हुने

तनहुँ । म्याग्दे गाउँपालिका–३, पसलेस्थित नव पसले युवा क्लबले शुभ दीपावली – २०८२ को अवसरमा ‘पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ। आगामी कात्तिक ३ गते लक्ष्मीपूजाको दिन कार्यक्रम हुने क्लबका सचिव श्रीराम थापाका बताएका छन ।

सचिव थापाका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै क्लबका सदस्य दाजुभाइ र दिदीबहिनीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको बताएका छन।

यस वर्षको कार्यक्रमलाई क्लबले सामाजिक उत्तरदायित्व र विकाससँग प्रत्यक्ष जोड्ने निर्णय गरेको छ। क्लबका सह–अध्यक्ष मनोज कुमार श्रेष्ठका अनुसार कार्यक्रमबाट संकलित हुने रकम सामुदायिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ। उक्त कार्यक्रमबाट क्लबले संकलित आर्थिक स्रोतबाट सामुदायिक एवम् आधुनिक व्यायामशाला निर्माण गर्ने, श्री पसले आधारभूत विद्यालयको प्राङ्गणमा निर्माणाधीन बास्केटबल कोर्ट पूरा गर्ने र पसले बजारस्थित पृथ्वी राजमार्गमा दुई थान सिसी क्यामेरा जडान गर्ने योजना बनाएको बताए ।

श्रेष्ठका अनुसार क्लबले विगतदेखि नै समाजसेवा, खेलकुद र पूर्वाधार विकासका क्षेत्रमा सक्रियता देखाउँदै आएको छ। “युवाहरूलाई खेलकुद, स्वास्थ्य र संस्कृतितर्फ प्रेरित गर्न हामी निरन्तर प्रयासरत छौँ,” उनले भने, “यस वर्षको कार्यक्रमले क्लबलाई थप सशक्त बनाउनेछ र सामुदायिक एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौँ।”

स्थानीयवासीहरूले क्लबका विगतका क्रियाकलापको प्रशंसा गर्दै यसपटकको कार्यक्रमलाई पनि सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। क्लबले विगतमा सडक सरसफाइ, विद्यालय सुधार, रक्तदान र खेलकुद प्रतियोगिता जस्ता सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।

क्लबका निवर्तमान अध्यक्ष सुदिप लामिछानेले सम्पूर्ण तनहुँवासी, म्याग्देवासी र अन्य नेपाली नागरिकलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेका छन्। “दिपावलीको शुभ अवसरमा स्थानीय कला, संस्कृति र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने, “हाम्रो सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा विस्तार गर्न यस्तो कार्यक्रम अत्यन्त महत्वपूर्ण मानिन्छ।”

क्लबका पदाधिकारीका अनुसार कार्यक्रममा दर्शकका लागि सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ। स्थानीय प्रहरी र स्वयंसेवकहरूलाई परिचालन गरी कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाइनेछ। साथै मौलिक लोकगीत–नृत्य र राष्ट्रिय कलाकारहरूको प्रस्तुति मार्फत दिपावलीको उल्लासपूर्ण वातावरण सृजना गरिनेछ।

कार्यक्रमबाट संकलित आर्थिक स्रोतलाई आगामी वर्षका सामुदायिक तथा सामाजिक परियोजनामा समेत उपयोग गर्ने क्लबको दीर्घकालीन योजना रहेको छ। क्लबले पाँचौँ संस्करणको यस कार्यक्रमलाई सामाजिक एकता, सांस्कृतिक संरक्षण र स्थानीय विकासलाई सुदृढ पार्ने साझा मञ्चका रूपमा अघि बढाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।