बाँके । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइनन । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन ।
विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि आफूलाई कसैले अन्धकारमा राख्न नसक्ने भन्दै साक्षर बन्ने सोचमा पुगिन । अहिले सुनारको अवस्था फेरिएको छ ।
कृषि पेसा गर्ने उनले अन्न होस् या खसीबाख्रा बेच्दा होस् सजिलै हिसाब राख्न सक्छिन । शिक्षाको महत्व राम्ररी बुझेकी उनले आफ्ना चार छोराछोरीलाई उच्च शिक्षाको अवसर दिएकी छन् ।
यस्तै बुद्ध टोलकी ५३ वर्षीया चुकु महतारा पनि साक्षर अभियानमा सहभागी भएपछि सामान्य लेखपढ गर्नसक्ने भएकी छन् । सामान्य हिसाब गर्ने, आफ्नो नाम लेख्न र पढ्न सक्ने भएकोमा उनी मख्ख परेकी छन । वडा नं ४ कै भण्डारीयाकी राजिया शेखलाई पनि सामान्य लेखपढ गर्न आउँदैन्थ्यो । भारतबाट विहे गरेर नेपाल आएकी उनले साक्षर कक्षामा सहभागी भए पनि केही नेपाली बोल्न र लेख्न सिकेकी छन । यतिमात्रै होइन, तीन सन्तानकी आमा उनलाई आफ्ना छोराछोरीले पनि पढ्न लेख्न सिकाउने गर्छिन । “त्यसले गर्दा मलाई पनि पढ्न सजिलो भएको छ”, उनी भन्छिन ।
खजुरा गाउँपालिकाका भण्डारीया, पार्वतीपुर र ईगाउँमा साक्षर कक्षाका सहयोगी भगवती योगीले आफूले हालसम्म ६० जनालाई साक्षर बनाएको बताइन । केहीलाई समूह र केहीलाई घरदैलोमै साक्षर कक्षा सञ्चालन गरेर सहयोग गरेको उनको भनाइ थियो ।
आफ्नो नाम पनि लेख्न नसक्नेहरु अहिले नाम मात्रै होइन अरू कुरामा पनि निकै सुधार गरेको उनको अनुभव छ । गाउँपालिकाको विकासका लागि शिक्षा क्षेत्रको विकास हुनु अति नै आवश्यक रहन्छ । खजुरा गाउँपालिकालाई साक्षर घोषणा गर्न सम्बन्धित वडाको अगुवाइमा विद्यालयका शिक्षक, पदाधिकारी र विद्यार्थीसँगको समन्वयमा काम अघि बढेको छ ।
खजुरा गाउँपालिकामा २९ हजार २८ महिला र २८ हजार चार पुरुष गरी कूल ५७ हजार ३२ जनसङ्ख्या छ । त्यसमध्ये १५ देखि ६० वर्षसम्मको उमेरका ३८ हजार ९०१ छन् । जसमध्ये साक्षर ३७ हजार ८१६ रहेको गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्क छ । सबै वडाको १५ देखि ६० वर्ष उमेरको साक्षरता ९६।९९ प्रतिशत रहेको छ ।
त्यस्तै १५ देखि ६० वर्षसम्मका ३।००१ प्रतिशत निरक्षरलाई पनि एक वर्षभित्रै साक्षर गराउने र सोही अवधिभित्रै अनिवार्य निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरिने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनाइन । “विगतमा छोरीलाई पढाएर केही नहुने भन्ने समाजले अहिले राम्रोसँग शिक्षाको महत्व बुझेको छ, छोरी मात्र होइन उमेर छिपिँदै गएका आमालाई पनि साक्षर बन्नका लागि कम्मर कसेर पढ्ने वातावरण बनिसकेको छ”, गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले भनिन।
“अभिभावक शिक्षित भए भने विद्यार्थीले घरमा पनि सिकाइमैत्री वातावरण पाउँछन्”, उपाध्यक्ष विकले भनिन, “घर अनि समाजमा शिक्षित व्यक्ति भए पनि घरेलु, महिला हिंसालगायतका आपराधिक गतिविधिमा कमी भएर खजुरालाई सभ्य गाउँपालिका बनाउन सकिन्छ ।”
गाउँपालिकामा मधेशी समुदायको बाहुल्यता छ । खजुरामा शिक्षित व्यक्ति, समाज र अध्ययन गर्दै गरेका बालबालिका सहजै देख्न सकिन्छ । सरकाले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालय वा बालबालिकालाई प्रोत्साहनमा विभिन्न अनुदान सहयोग प्राप्त भइरहेकाले शिक्षाले राम्रै गति लिइरहेको छ ।
सबै बालबालिकालाई विद्यालय भित्र्याउन गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । खजुरामा ३० सामुदायिक, १७ मदरसा र १८ संस्थागत गरी ६५ विद्यालय सञ्चालनमा छन् । आधारभूत ४३ र माध्यमिक २२ विद्यालय छन् भने दुई सामुदायिक र नीजि क्याम्पस, दुई प्राविधिक धारका विद्यालय र दुई नमूना विद्यालय सञ्चालनमा छन् ।
सामुदायिक र निजी विद्यालयमा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म १७ हजार ८४९ विद्यार्थी अध्ययनरत् रहेको शिक्षा शाखाले जनाएको छ । अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउन गाउँपालिकाले भर्ना अभियानलगायतका विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।
कक्षा छोड्ने तथा दोहो¥याउने विद्यार्थीमा पनि धेरै सुधार भएको गाउँपालिकाका स्रोतव्यक्ति टङ्क दाहालले बताए । सबै जनसङ्ख्या साक्षर भएमा मात्रै सिङ्गो गाउँपालिका साक्षर हुने र दिगो विकासमा टेवा पुग्ने भन्दै गाउँपालिकाले आफ्नो क्षेत्रलाई साक्षर गाउँपालिका घोषणा गरिसकेको छ ।