अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

चितवन, ७ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले रु एक करोड बजेट विनियोजन गरेको छ । हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने ढकालले बताए । सँगै जोडेर वा गैँडालगायतका जनावरलाई वारपार गर्ने ठाउँ छाडेर कुन तरिकाले गर्दा उपयुक्त हुन्छ सोहीअनुरुप काम गरिने उनले जानकारी दिए ।

प्राविधिकहरुसँग परामर्श गरेर छिट्टै काम शुरु गरिने ढकालको भनाइ थियो । ठाउँ विस्तार गरेपछि सङ्ख्या थप गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले ती जनावरलाई सधैँ खोरमा राख्न नसकिने भएकाले बथानमा छोड्न सङ्ख्या बढाउनुपर्ने बताए । खोरमा हाल तीन बच्चासहित १३ अर्ना र एउटा बाह्रसिङ्गे रहेका छन् ।

सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थियो । तीमध्ये पाँच मरेका छन् भने तीन बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र आठ पोथी रहेका छन् । शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ ।

खड्काले खोर विस्तारसँगै थप अर्ना र बाह्रसिङ्गे ल्याइने बताए । २५÷३० को हाराहारीमा पुगेपछि खोरबाट बाहिर छोड्दा बच्नसक्ने उनको भनाइ थियो । बाघको आक्रमणबाट बच्न बथानमा यो जनावर हिँड्ने गर्दछ । निकुञ्जले पहिलो चरणमा खोर विस्तार गर्नेछ भने त्यसपछि थप जनावर ल्याउन लागिएको हो ।

खोरभित्र घाँसेमैदान व्यवस्थापन, पानीका पोखरी निर्माण गरिनेछ । सँगै सुरक्षाका लागि निर्माण गरिएको मचान व्यवस्थित गरिने निकुञ्जले जनाएको छ । खोरभित्र अर्ना, बाह्रसिङ्गेसँगै मृग, बदेलजस्ता जनावर पनि रहेका छन् । निकुञ्ज सुरक्षार्थ सेना र कर्मचारीले नियमित सुरक्षा र निगरानी गरेर अर्ना र बाह्रसिङ्गे संरक्षण गरिरहेका छन् । दुई वर्षअघिको बाढीका कारण अर्ना र बाह्रसिङ्गे मरेका र बेपत्ता भएका थिए ।

Loading...