काठमाडौं, २८ साउन । ६ सय ७२ जना उपप्राध्यापक नियुक्त गर्न तय गरिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले फेरि स्थगित गरेको छ।
त्रिवि सेवा आयोगको कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तयारी नपुगेका कारण उपप्राध्यापक पदको परीक्षा स्थगित गरिएको जानकारी दिएको छ । तर, पटक पटक परीक्षा स्थगित भएपछि यसलाई मान्छेहरुले शंकाको दृष्टिले हेरेका छन् । यसअघि पनि परीक्षा स्थगित भएको थियो ।
त्रिविले विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि परीक्षा गर्न लागेको थियो। भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकेको थियो । सेवा आयोगमा लामो समयसम्म पदाधिकारी रिक्त हुँदा उक्त परीक्षा अन्योलमा थियो।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत साता मात्र अध्यक्ष र सदस्य नियुक्त गरेका थिए।
ढिलो पदाधिकारी नियुक्त गर्दा परीक्षाको तयारी प्रभावित भएको थियो। सूचनामा परीक्षाको अर्को मिति पछि तोकिने बताइएको छ ।







