सामान्य कुराकानी पनि तीन घन्टा चल्नु फिडेल क्यास्ट्रोका लागि औसत समय हो । आफ्नो कार्यालयहरूमा ओथारो लागेर बस्ने एकेडेमिक नेता होइनन् उनी । समस्याहरू जहाँसुकै खोज्दै हिँड्ने बानीले गर्दा होला, साइरन बजाउँदै सुरक्षा दिने ‘कारगेट’विना नै कुनै पनि समयमा (मध्यरातमा पनि) हवानाका निर्जन गल्लीहरूमा उनलाई डुल्दै गरेको भेट्न सकिन्छ । उनको दैनिकी भद्रगोल छ । उनमा निद्रामा उठेर हिँड्ने रोग लागेको छ । उनी जोसित जुनसुकै वेला पनि उठेर कतै भ्रमणमा जाने हुनाले सहयोगी रातभर जाग्राम हुन्छन् भन्ने किस्सा चलेको छ ।
धेरै बानीहरू उनले सियरा मायेस्त्राबाट अनुकरण गरेकोले उनको त्यो बिम्ब र किस्सामा केही सत्यता छ । आफ्ना लामा भाषणहरूले मात्रै उनी चर्चित भएका होइनन् । १५ वर्षसम्म पनि उनको न आफ्नो घर थियो, न कार्यालय । न त कुनै निश्चित दैनिकी नै । उनी जहाँ छन्, सरकारी कार्यालय त्यहीँ हुन्थ्यो ।
अहिले विल्कुल फरक छ । आफ्नो चारित्रिक संवेग, जोशबाट अलिकति पनि पछि नहटी उनले आफ्नो जीवनमा अलिकति अनुशासन लादेका छन् । पहिलेपहिले उनी जहाँ थाक्थे, त्यहीँ यसो आँखाको विष मार्थे । यसरी उनको दिनरात एकैसरह बित्थ्यो । अहिले उनी नियमित कम्तीमा ६ घन्टा सुत्ने प्रयास गर्छन् । तर, उनैलाई थाहा छैन, त्यो सुत्ने वेला चाहिँ कहिले आउँछ । कामको प्रकृतिअनुसार उनको सुत्ने समय राति १० बजे पनि हुनसक्छ र बिहान ७ बजे पनि ।
दैनिक कार्यतालिकाको काममा लीन भएर उनी कार्यालयमा घन्टौँ बिताउँछन् । कार्यालयमा एकदम व्यवस्थितसँग मिलाइएको फर्निचर र पुस्तकदराज छ । यो दराजका पुस्तकले बृहत् क्षेत्रलाई प्रतिबिम्बित गर्छन् । यहाँ पानी, बाली लगाउने प्रविधिदेखिका रुमानी उपन्याससम्म छन् । क्रिस्टोफर कोलम्बसले सुर्ती पत्ता लगाएको देशमा धूमपानविरुद्ध लड्ने नैतिक धरातल बनाउन दैनिक आधा बट्टा सिगार तान्ने क्यास्ट्रोले अहिले पूर्ण रूपमा धूमपान त्यागेका छन् ।
तीव्र रफ्तारमा शरीरको वजन बढ्दै गएपछि उनी स्थायी रूपमा नै खाना कटौती गर्न बाध्य भएका छन् । उनको अगस्तिजस्तो खाने रुचि र नयाँ जोशका साथ खाना बनाउन देखाउने अतृप्त आनन्दलाई ध्यानमा राख्ने हो भने उनको यो ठूलो बलिदान हो । एक आइतबार बिहान उनले खाजामा १८ स्कुप आइसक्रिमका साथ ठूलै भाग लडाए । उनी उमालेको तरकारीसँग माछाको परिकार रूचाउँछन् । सधैँजसो पौडी खेलेर अनि केही घन्टा जिममा बिताएर उनी शारीरिक रूपमा तन्दुरूस्त रहन्छन् ।
आफूलाई एक गिलास हि्वस्कीमा सीमित राख्छन् । उनले आफूले बनाउन जानेको म्याकोरोनीप्रतिको कमजोरी नियन्त्रणमा लिन सकेका छन् । पौराणिक कथाको नायकको जस्तो उनको क्षणिक आवेग अतीतको कुरो भइसक्यो । अत्यन्त धैर्यताका साथ उनले आफ्नो खराब मुड सम्हाल्न सिकेका छन् ।
उनले एकपटक भने, ‘अर्को जन्ममा म लेखक हुनुपर्यो ।’ उनी एकदम राम्रो लेख्छन् । त्यसमा आनन्द लिन्छन् । गुडिरहेको कारमा पनि मनमा जे आउँछ, त्यही नोटबुकमा लेखिरहन्छन् । कहिलेकाहीँ व्यक्तिगत चिठीहरू पनि लेख्छन् । सामान्य कागजका ती नोटबुकहरू नीलो प्लास्टिकमा बेरिएका हुन्छन् । उनले लेख्ने अक्षर एकदमै साना हुन्छन् । सुरुमा हेर्दा त स्कुले केटाकेटीको जस्तै देखिन्छ । पूर्ण व्यावसायिक लेखकले झैँ लेख्छन् उनी । कुनै शब्दावलीलाई उनी धेरैपटक सच्याउँछन्, केरमेट गर्छन्, कापीको मार्जिनमा फेरि लेख्छन् । कुनै सही शब्दको खोजीमा शब्दकोष पल्टाउँदै वरिपरीकालाई सोध्दै दिन बिताउँछन् ।
सन् ७० को दशकमा उनी भाषण लेख्ने बानीमा फँसे । उनी यति ढिलो र सावधानीका साथ लेख्थे कि त्यो पूर्ण यान्त्रिक बन्न पुग्थ्यो । उनको यही बानीले भाषण झन् बिगि्रन्थ्यो । त्यो लिखित पढ्दाखेरि फिडेलको व्यक्तित्व नै परिवर्तन भएकोजस्तो लाग्थ्यो । उनको लय फरक हुन्थ्यो, शैली र आवाजको गुणस्तर पनि फरक हुन्थ्यो । विशाल ‘क्रान्तिचोक’मा उपस्थित पाँचौँ लाख मानिसअगाडि बोल्दा आफैँले लेखेको शब्दको कम्बलभित्र क्यास्ट्रो निस्सासिन्थे अनि आफूले लेखेभन्दा अन्य कुरा बोल्न थाल्थे । अर्कोपटक उनका टाइपिस्टले गलत टाइप गरिदिए भने बोल्दाबोल्दै सच्याउनुको साटो उनी बोल्न रोकेर कलम निकालेर भाषण सच्याउन थाल्थे । उनी लिखित भाषणमा कहिल्यै सन्तुष्ट हुँदैनथे । आफ्नो भाषणलाई झन् जीवन्त बनाउने प्रयास थुप्रै सन्दर्भमा सफल भए तापनि भाषण सकिएपछि उनी निराश हुन्थे । उनले भन्न खोजेका सबै कुरा ती भाषणहरूले भन्थे । सायद अझ राम्रोसँग सम्प्रेषित पनि हुन्थे होला । तर, तिनमा उनको जीवनको उत्तेजना रहँदैन थियो ।
उनी बोल्न जानुभन्दा पहिले हुने अप्ठेरोपन जित्न प्रयास गर्छन् । तर, उनको यो डर कसैले थाहै पाउँदैनन् । यसलाई उनी स्वीकार गर्छन् । एउटा सार्वजनिक समारोहमा मलाई भाग लिन आउन गरिएको निमन्त्रणको नोटमा यसो लेखेका थिए, ‘स्टेजको भय हटाउन एकपटक बोल्ने प्रयास गरेर मात्रै आऊ । म पनि कहिलेकाहीँ त्यसै गर्छु ।’
कुनैकुनै विशेष अवस्थामा मात्र उनी केही बुँदाहरू टिपेको कार्डको प्रयोग गर्छन् । जुन उनी निसंकोच गोजीबाट निकालेर सबैले देख्ने गरी हेर्छन् । अलि हिच्किचाउँदै लगभग सुन्नै मुस्किल पर्ने आवाजमा उनी बोल्न थाल्छन् । स्रोतालाई विस्तारै कुहिरोतिरको अनिश्चित यात्रामा डोर्याउँछन् । तर, शक्तिशाली पञ्जाले झैँ स्रोताको गर्दन समात्छन्, जसले दर्शक र स्रोताहरू उत्तेजित हुन्छन् ।
पहिलापहिला उनी आएपछि मात्र सार्वजनिक कार्यक्रमहरू सुरु गरिन्थ्यो । तथापि उनको आगमन वषर्ाजत्तिकै अनिश्चित हुन्थ्यो । तर, केही वर्षयता उनी एकदम ठीक समयमा आइरहेका छन् र उनको भाषणको अवधि स्रोताको ‘मुड’मा भर पर्छ । सुरुसुरुका उनका अनन्त लामा भाषणहरू अब अतीत भइसके, जुन अहिले किस्सामा जोडिएर आउँछन् । उवेलामा मिहिनसँग व्याख्या गर्नुपर्ने कुराहरू अहिले जनताले बुझिसकेका छन् । वक्तृत्वकलाको ‘पेडागोजी’को यतिविघ्न ‘सेसन’पछि उनको शैली पनि खँदिलो भइसकेको छ । उनले कम्युनिस्टहरूले जस्तो शास्त्रीय नारा दोहोर्याएको सुनिएको छैन । न त उनी व्यवस्थाको कर्मकाण्डीय भाषा नै बोल्छन् । उनी रूढीवादविरोधी सर्वोत्तम व्यक्ति हुन् । उनको सृजनशील कल्पना नास्तिकताको दलदलमाथि मडारिरहन्छ । गफगाफ होस् या रोस्ट्रममा, उनी आफ्ना पि्रय लेखक जोसे मार्टीबाहेक कसैको पनि भनाइ वा शब्दावली उल्लेख गर्दैनन् । उनले मार्टीका २८ वटा पुस्तक छिचोलेका छन् । उनको प्रतिभाले मार्टीको विचारलाई माक्र्सवादी क्रान्तिमा जोडेको छ । जनताको सार्वजनिक काम भनेको प्रत्येक व्यक्तिबारे चासो राख्नु हो । यही विचारप्रतिको उनको दृढ विश्वास नै उनको दर्शनको सार हो ।
जनतासँगको प्रत्यक्ष सम्पर्कमा उनको पूर्ण विश्वासलाई यसैले देखाउँछ । सबैभन्दा गाह्रोजस्तो भाषणहरू पनि अनौपचारिक गफजस्ता लाग्छन् । मानौँ, उनी क्रान्तिको पूर्वसन्ध्यामा विश्वविद्यालयका विद्यार्थीहरूसँग गफिँदै छन् । विशेषगरी हवानाबाहिर कुनै सार्वजनिक समारोहमा उनलाई कसैले बोलाइहाल्यो र चर्कोचर्को स्वरमा गफ चल्न थाल्यो भने अनौठो नमाने हुन्छ । प्रत्येक अवसरहरूमा बोल्ने भाषा छ उनीसँग । त्यस्तै श्रमिक, कामदार, किसान, विद्यार्थी, वैज्ञानिक, राजनीतिज्ञ, लेखक वा विदेशी पाहुना, सबैलाई विश्वस्त पार्ने भिन्न तरिका पनि छ उनीसँग । आफूसँग भएको बृहत् र विशाल सूचनाभण्डारको सहायताबाट उनी जोसँग कुरो गर्दै छन्, उसैको तहमा ओर्लिएर कुरो सुरु गर्छन् । तर, उनको व्यक्तित्व यति जटिल छ कि एउटै भेटमा ती विभिन्न व्यक्तिहरूले उनीबारे भिन्नाभिन्नै अवधारणा बनाउन सक्छन् ।
तर, एउटा कुरो निश्चित छ, उनी जहाँ भए पनि जस्तो र जोसँग भए पनि गफमा जित्ने फिडेल क्यास्ट्रो नै हुन् । उनीभन्दा अरू कोही खराब हरुवा यो दुनियाँमा कल्पना गर्न सक्दिनँ । दैनिक जीवनको सामान्य घटनालगायत अन्य पराजयको सम्मुखमा उनको भाव हेरिनसक्नुको हुन्छ । उनी पराजय स्विकार्नु त परै जाओस् बरु परिस्थितिका सर्तहरू नै बदलेर त्यसलाई विजयमा नढालेसम्म चैनको सास लिँदैनन् । जेसुकै होस् र जहाँसुकै होस्, सबै कुरो अथक गफगाफको सीमाभित्रै सकिन्छ । स्रोताको रुचिअनुसार गफको विषय जे पनि हुनसक्छ । तर, उनी विस्तारै आफ्नो रुचिको विषयतर्फ गफ मोड्न थाल्छन् । प्रायःजसो उनलाई धेरै दिनदेखि मथिङ्गल खाइरहेको विचार खोतल्ने वेलामा यस्तो हुन्छ । विषयको गहिराइमा नै पुग्ने तयारी गरेका वेलामा आफ्नो गफको विषयमा उनीजतिकै सम्मोहित अरू कोही हँुदैन होला । कोही उनको कामको विपक्षमा देखिए भने त काम सानो होस् कि ठूलो, उनी दिलोज्यान दिएर लाग्छन् । यस्तो वेलामा उनी जति जोसिला सायदै अरू होलान् । उनलाई राम्रोसँग बुझ्छु भनेर विश्वास गर्ने कसैले एकपटक भनेका थिए, ‘तपाईंं एकदम उज्यालो देखिनुभएको छ पक्कै केही गडबड छ ।’
उनलाई पहिलोपल्ट भेट्ने विदेशी पाहुनाले केही वर्षपहिले मलाई भन्थे, ‘फिडेल अब बूढा भएछन् । एउटै विषयमा उनले राति सातपटकसम्म कुरो निकाले ।’ मैले उनलाई सम्झाएँ । यो बहुलठ्ठीपूर्ण लाग्ने कदम उनको काम गर्ने तरिका हो । त्यस्तै दक्षिण अमेरिकामा विदेशी ऋणका विषय उनको गफमा दुई वर्षअगाडि पहिलोपल्ट निस्किएको थियो । त्यसपछि त्यो विषय बढ्यो, हाँगाबिँगा फैलिए । अझ दह्रो भयो र अन्त्यमा यसले बारम्बार दोहोरिने डरलाग्दो सपनाको रूप लियो । सामान्य अंकगणितीय निष्कर्षको शैलीमा उनले पहिलो कुरो भने, ‘यो ऋण तिर्नुपर्दैन ।’ त्यो वर्ष तीनपटक मैले हवानाको भ्रमण गरेँ । अलिअलि गरेर यो विषयमा उनका नयाँनयाँ निष्कर्ष जोडजाड पारेँ । ऋणले गर्दा दक्षिण अमेरिकी देशहरूको आर्थिक, राजनीतिक र सामाजिक प्रभाव, अन्तर्राष्ट्रिय सम्बन्धहरूमा यसले पारेको निणर्ायात्मक असर र एकीकृत दक्षिण अमेरिकी नीतिका लागि यसको क्षेत्रीय महत्त्व छ । अन्त्यमा उनले विज्ञहरूको महत्त्वपूर्ण सम्मेलनको आयोजना गरे । जसमा उनले भाषण गरे । यो भाषणमा अगाडि गफगाफमा उठेका कुनै पनि प्रश्न छाडेनन् । त्यसवेलासम्ममा उनले यो विषयमा एउटा छर्लंग दृष्टिकोण बनाइसकेका थिए ।
मलाई लाग्छ, राजनीतिज्ञको रूपमा उनको सबैभन्दा ठूलो गुण भनेको समस्याको क्रमविकासलाई पहिचान गर्नसक्ने क्षमता हो । उनी समस्याको दीर्घकालीन निष्कर्षसम्म पुग्छन् । यस्तो लाग्छ, उनी आइसवर्गको बाहिरी भाग मात्रै हैन, समुद्रभित्र डुबेको सातगुणा ठूलो भाग पनि देख्छन् । उनको यो क्षमता चिन्तनबाट सक्रिय हँुदैन बरू तनावपूर्ण र निरन्तरको तर्क-वितर्कबाट चल्छ । विदेशी ऋणको प्रश्नमा झैँ कुनै लगानशील स्रोताले क्यास्ट्रोमा कुनै विचारको पहिलो भ्रुण भेटायो भने महिनौँसम्मको विभिन्न बातचितमा त्यो विस्तारै विकास भएको पाउँछ । त्यो विचार परिपक्व भएर सार्वजनिक नभएसम्म त्यो विकासक्रमलाई क्यास्ट्रोसँगको गफमा नियाल्न सकिन्छ । यसरी एउटा विषयको काम सकिएपछि एउटा चक्र पूरा हुन्छ, जसलाई क्यास्ट्रो फेरि दोहोर्याएर हेर्दैनन् ।
तर, यो चक्र घुम्न उनलाई मजाले चपाएर पचाइएको सूचना, स्रोतहरूको अविरल आपूर्ति चाहिन्छ । उनको उत्कृष्ट सहयोगी उनको स्मरणशक्ति हो । उनले यही शक्तिलाई व्यक्तिगत कुराकानी र भाषणहरू टिकाउन, लम्ब्याउन र त्यसमा तर्कवितर्क गर्न दुरुपयोगकै हदसम्म प्रयोग गर्थे । बिहान उठेदेखि नै उनी मथिंगलमा सूचना संग्रह गर्न थाल्छन् । संसारभरिका दुई सय पृष्ठ समाचारपत्रसँगै उनी बिहानको चियाचमेना लिन्छन् । दिउँसोभरि जता हिँडे पनि उनी जुहाँसुकैबाट भए पनि अत्यावश्यक सूचनाहरूबाट सूचित भइरहन्छन् । उनकै अनुमानमा पनि दिनभरिमा उनले कम्तीमा ५० वटा ‘डकुमेन्ट’ पढ्नुपर्छ रे । पाहुना र सरकारी कार्यालयबाट आउने सूचनाको त कुरै छाडौँ । फूर्ति लगाएको होइन । यो जहाजको कुरोबाटै छर्लंग हुन्छ ।
उनी जहाजमा उड्न त्यति मन पराउँदैनन् । केही विकल्प नभएमा मात्रै उनी हवाइजहाज चढ्छन् । तर, उनीजतिको खराब यात्री कोही हुनैसक्दैन । उनी सबै कुरो जान्न बेचैन रहन्छन् । उनी न सुत्छन्, न पढ्छन् । अलिकति शंका लाग्नेवित्तिकै जहाजका कर्मचारीलाई नक्सा लिएर बोलाउँदै सोध्न थाल्छन् । जहाजले किन अर्को रूट नलिएर यो रूट लिएको भन्ने प्रश्न सोध्छन् । त्यति मात्रै होइन, टर्वाइनको आवाज किन बदलियो वा सफा मौसम हुँदाहुँदै पनि जहाज किन उपि|mरहेको छ आदि सोधेर हैरान पार्छन् । उत्तर एकदम सही हुनैपर्छ । उनी शब्दमा अलिकति पनि तलमाथि पर्यो कि समातिहाल्छन् । क्यास्ट्रोको सूचनाको अर्को महत्त्वपूर्ण स्रोत किताब हो । विरोधीहरूले बनाएको उनको विम्बसँग उनको व्यक्तित्व केही मिल्नुको कारण उनको औधि पढन्ते बानी पनि हो ।
उनी पढ्ने समय कसरी जुटाउँछन् र यति छिटो पढ्ने विधि के हो, कसैले बताउन सक्दैन । उनी आफैँ चाहिँ त्यस्तो विशेष केही छैन भन्छन् । प्राग्ऐतिहासिकजस्तो लाग्ने ‘ओल्डसमोबाइल’ कार, त्यसपछिको सोभियत जिलन र हालसालैको मर्सिडिजमा पनि पढ्नलाई पर्याप्त उज्यालो बत्ती हुन्छ । धेरैपटक त उनले मध्यराततिर पढेर बिहानै त्यसबारे टिप्पणी पनि गरेका छन् । उनी अंग्रेजी पढ्छन्, तर बोल्दैनन् । प्रायः स्पेनीमा पढ्न रूचाउँछन् । उनलाई हालसालैको कुनै किताब चाहिएको छ, तर अनुवाद भएको छैन भने उनी आफैँ अनुवाद गर्न लगाउँछन् । उनका एकजना डाक्टर साथीले उपहारस्वरूप हाडजोर्नीसम्बन्धी आफ्नो किताब पठाएछन् । उनलाई क्यास्ट्रोले त्यो किताब पढ्लान् भन्ने लागेकै रहेनछ । तर, एकहप्तापछि क्यास्ट्रोले ती डाक्टरलाई किताबमाथिको टिप्पणीसहित चिठी पठाएछन् । आर्थिक र ऐतिहासिक विषयका उनी नियमित पाठक हुन् । लि इयाकोकाको संस्मरण पढ्दा क्यास्ट्रोले एकदम गम्भीर त्रुटिहरू भेटेछन् । उनले स्पेनीसँग तुलना गरेर हेर्नलाई अंग्रेजी संस्करण लिन एकजनालाई न्युयोर्क नै पठाएछन् । वास्तवमा स्पेनीमा अनुवाद गर्ने मान्छे ‘खरब’ शब्दको अर्थमा झुक्किएको रहेछ । उनी साहित्यका पनि राम्रा पाठक हुन् । उनी एकदम ध्यान दिएर पढ्छन् । ‘बेस्ट सेलर’हरूको तीव्र उपभोगमा उनको लत मैले नै सुरु गरिदिएको हुँ भन्ने तथ्य मेरो चेतमा अझैँ छ । सरकारी कागजातहरूको कर्मकाण्डीय पढाइविरुद्धको ओखतीका रूपमा मैले त्यसो गराएको थिएँ ।
तर, अझैँ उनको तत्कालीन र सबैभन्दा उपयोगी सूचनाको स्रोत गफगाफ नै बनिरहेको छ । एकदम चाँडो सोधीखोजी गरिहाल्छन् उनी । अन्तिम जवाफ नपाएसम्म उनी किन, के, कसरी भन्नेजस्ता प्रश्नहरूको वषर्ा गरिरहन्छन् । कुनै केरकारमा फँसेजस्तो अनुभव नगर्ने स्रोता भेट्न मस्किल पर्छ । एकपटक दक्षिण अमेरिकाकै एकजना पाहुनाले आफ्नो देशका जनताले गर्ने चामल उपभोगको हचुवा तथ्यांक दिएछन् । क्यास्ट्रोले मनमनै लेखाजोखा गरेर भनेछन्, ‘कति अनौठो ! एकजनाले दिनमा ४ पाउन्ड चामल खाँदोरहेछ ।’ उनी आफूले जानेको कुरो पनि सोधेर आफ्नो जानकारीलाई थप पुष्टि गर्छन् । कहिलेकाहीँ चाहिँ आफूसँग कुराकानी गरिरहेको साथीको क्षमता जाँच्न र त्यसैअनुरूप गफ अगाडि बढाउन पनि उनी प्रश्न सोध्छन् । उनी आफूले सूचना पाउने कुनै पनि अवसर खेर जान दिँदैनन् । कोलम्बियाली राष्ट्रपति बेलिसारियो बेटानकुरसँग उनको वेलाबखत फोनमा कुराकानी भइरहन्छ । अहिलेसम्म यी दुईले न प्रत्यक्ष भेटेका छन्, न यी दुई देशबीच कूटनीतिक सम्बन्ध नै कायम भएको छ । यस्तैमा एकपटक कोलम्बियाली राष्ट्रपतिले फोन गरेछन् । पछि मलाई क्यास्ट्रोले भने, ‘कोलम्बियाको कफी खेतीबारे सोध्ने मौका उठाइहालेँ मैले । यस्तो सूचना अरूवेला समाचारमा बिरलै आउँछन् ।”
क्रान्तिभन्दा पहिले र पछि पनि उनले ‘प्रोटोकल’को साँघुरो घेराभित्र रहेर केही देशहरूको औपचारिक भ्रमण गरेका छन् । आफूले भ्रमण गरेको देशबारे त कुरा गरिहाल्छन् नै, आफू नगएको देशबारे पनि गएजसरी नै बखान गर्छन् । अंगोलामा युद्ध चलिरहेका वेलामा एउटा आधिकारिक सरकारी भोजमा त्यहाँको युद्धको यति विस्तारमा वर्णन गरे कि एकजना युरोपेली कूटनीतिज्ञलाई उनले अंगोलाको युद्धमा भाग लिएका छैनन् भनेर सम्झाउन हम्मेहम्मे पर्यो । चेग्वेभाराको पक्राउ र हत्याबारे उनले भाषणमा दिएको विवरण, मोनकाडा प्यालेसमा भएको बमवारी र साल्भाडोर एलेन्डेको मृत्युको वर्णन जीवन्त थियो उनको । उनी शब्दमार्फत घटनाको वृतचित्र देखाउँछन् ।
(क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको आत्मकथात्मक पुस्तक ‘मेरो युवाकाल’मा मार्खेजले लेखेको भूमिकाको सम्पादित एक अंश ।)