फिडेल : एउटा युगको अन्त्य

४९ वर्षे शासनकालमा फिडेल क्यास्ट्रोले कट्टर विरोधी देश अमेरिकाका १० जना राष्ट्रपति झेले

एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । २०औँ शताब्दीका महान् राजनीतिज्ञ तथा कम्युनिस्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युबाको राष्ट्रिय टेलिभिजनले शनिबार जनाएको छ । क्यास्ट्रोका भाइसमेत रहेका क्युबाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले उनको निधन भएको घोषणा गरेका छन् । राष्ट्रपति राउलले वामपन्थी आन्दोलनका ‘प्रमुख कमान्डर’को निधन भएको बताए ।

क्यास्ट्रोले ४९ वर्षसम्म क्युबाको नेतृत्व सम्हालेका थिए । उनी सन् १९५९ देखि १९७६ सम्म क्युबाको प्रधानमन्त्री र १९७६ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए । क्यास्ट्रोले सन् २०११ को अप्रिल १९ मा क्युबाको कम्युनिस्ट पार्टीको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि उनकै भाइ राउल क्यास्ट्रो पार्टी नेता बनेका थिए ।

गत अप्रिलमा भएको क्युबाको कम्युनिस्ट पार्टीको अधिवेशनमा क्यास्ट्रोले अप्रत्याशित सहभागी हुँदै सम्बोधन गरेका थिए । त्यस क्रममा उनले आफू कुनै पनि वेला मृत्युको मुखमा पुग्न सक्ने संकेत गरेका थिए । ‘म छिटै ९० वर्ष पुग्दै छु । सम्भवतः यो हलमा बोल्ने मेरो अन्तिम समय हुनेछ, मैले पनि आराम लिने वेला आउँदै छ,’ क्यास्ट्रोले भनेका थिए ।

फिडेल क्यास्ट्रोबारे केही तथ्य

क्यास्ट्रोको जन्म १३ अगस्ट १९२६ मा पूर्वी गाउँमा भएको थियो । उनले जिसुइट विद्यालयमा अध्ययन गरे । युनिर्भसिटी अफ हवानाबाट कानुनमा स्नातक र सामाजिक विज्ञानमा उनले स्नातकोत्तर गरेका छन् । पाँच पत्नीबाट उनका नौ सन्तान छन् ।
क्यास्ट्रो विश्वमै सबैभन्दा बढी शासन गर्ने राष्टप्रमुखमध्ये एक हुन् । उनले सन् २००८ मा आधिकारिक रूपमा आफ्नो पद भाइ राउल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए । क्यास्ट्रो १० अमेरिकी राष्ट्रपति कार्यकालको एक्लो साक्षी बने । सन् २०१२ मा टाइम म्यागेजिनले उनलाई सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।
क्यास्ट्रो सन् १९५३ मा मोनकाडा सैन्य ब्यारेक हमालामा सहभागी भएका थिए । उक्त हमलापछि उनी भाइ राउलसँगै जेल परेका थिए । १९ महिनापछि उनलाई माफी दिइएको थियो । रिहा भएलगत्तै मेक्सिको भागेका उनी सन् १९५६ मा मात्रै स्वदेश फर्किएका थिए ।
आधुनिक इतिहासका महान् व्यक्ति क्यास्ट्रोको क्युबामा हिरो र खलनायक दुवै किसिमले चिनिन्छन् । उनीमाथि मानवअधिकार उल्लंघन, असन्तुष्ट समूहलाई चरम यातना दिएको र विरोधीलाई जेल हालेको आरोप लाग्ने गरेको छ । तर, समर्थक क्यास्ट्रोलाई क्युबाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिका रूपमा परिभाषित गर्छन् ।
क्यास्ट्रोको कार्यकालमा क्युबाको अमेरिकासँग तितो सम्बन्ध थियो । अमेरिकाले क्युबाको मुख्य उत्पादन चिनी निर्यातमा प्रतिबन्ध लगायो । जवाफमा क्यास्ट्रोले क्युबामा रहेका अमेरिकी कम्पनी जफत गरिदिएका थिए । त्यसपछि अमेरिकाले खाद्यान्न र औषधीबाहेक सम्पूर्ण सामग्री निर्यातमा प्रतिबन्ध लगायो ।
क्युबाबाट देश निकाला गरिएका झन्डै १४ सय विद्रोहीले सन् १९६१ को १७ अप्रिलमा क्युबाको दक्षिणी तट दी वे अफ पिग्सको किनारामा विद्रोह सुरु गरे । विद्रोहीलाई अमेरिकाको केन्द्रीय गुप्तचर निकायले समर्थन गरेको थियो । क्युबाली सेनाले उनीहरूलाई खेदेको थियो ।
क्यास्ट्रोले आफू ६३४ पटक हत्याका षड्यन्त्रबाट बचेको दाबी गरेका छन् । ती सबै षड्यन्त्र अमेरिकाको गुप्तचर निकाय र क्युबाबाट देश निकाला गरिएका व्यक्ति तथा उनीहरू आबद्ध संगठनबाट भएको पाइन्छ । क्यास्ट्रोले खाने औषधि, पिउने चुरोट र लगाउने लुगामा समेत अमेरिकाले विष राख्ने प्रयत्न गरेको थियो ।
अहिले क्युबा र क्यास्ट्रो शासनकालको क्युबामा केही भिन्नता पाइन्छ । क्युबाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरेका छन् । गत मार्चमा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले क्युबाको ऐतिहासिक भ्रमण गरेका थिए ।

Loading...