एजेन्सी । ‘म छिट्टै ९० वर्ष पुग्दै छु, यो हलमा बोल्ने सम्भवतः यो नै मेरो अन्तिम समय हुनेछ,’ गत अप्रिलमा कम्युनिस्ट पार्टीको अधिवेशनमा एक दुर्लभ सम्बोधनमा फिडेल क्यास्ट्रोले भनेका थिए । सम्बोधनकै क्रममा क्यास्ट्रोले आफू कुनै पनि वेला मृत्युको काखमा पुग्न सक्ने संकेत गरेका थिए । २०आैँ शताब्दीका महान् कम्युनिस्ट योद्धा क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको शनिबार घोषणा गरिएको छ । जीवनमा ६ सय ३४ वटा हत्याप्रयासबाट बचेका क्यास्ट्रोको निधनसँगै कम्युनिस्ट क्रान्तिको एक युगको अन्त्य भएको छ ।
फिडेलको जन्म सन् १९२६ को १३ अगस्टमा क्युबाको एक सम्पन्न किसान परिवारमा भएको थियो । उनको पूरा नाम फिडेल अल्जान्द्रो क्यास्ट्रो रज हो । क्यास्ट्रोका पिता एन्जिल मारिअ बाउटिस्टा क्यास्ट्रो वाई अर्गिज स्पेनका आप्रवासी हुन् । क्यास्ट्रो स्यान्टियागोको क्याथोलिक विद्यालयमा भर्ना भएका थिए । उनको रुचि पढाइभन्दा पनि खेलकुदमा थियो ।
स्नातक पढ्दापढ्दै राजनीति
क्यास्ट्रो सन् १९४० को दशकमा हवाना युनिभर्सिटीमा कानुनको विद्यार्थी बने । कानुन पढ्दापढ्दै क्यास्ट्रो राजनीतिक कार्यकर्ता बने । स्नातकपछि क्यास्ट्रोले वकालती पेसा सुरु गरे तर उनी ऋणमा डुबे । राजनीतिमा झन् सक्रियता बढ्यो । उनी प्रायः हिंसात्मक प्रदर्शनमा सहभागी हुन्थे ।
सन् १९४८ मा क्यास्ट्रोले क्युबाकी धनी राजनीतिज्ञ मिर्टा डियन बार्लटसँग विवाह गरे । उनको झुकाव माक्सवादतर्फ ढल्कियो । क्युबाको आर्थिक समस्या अनियन्त्रित पुँजीवादको परिणाम भएको र त्यसलाई जनक्रान्तिबाट मात्र समाधान गर्न सकिने उनको विश्वास थियो ।
बाटिस्टविरोधी आन्दोलन सुरु
सन् १९५२ मा फुलजेनिको बाटिस्टले सैन्य कु गरी तत्कालीन राष्ट्रपति कार्लोस प्रिओको सत्ता अपदस्थ गरे । अमेरिकासँग नजिक हुने र समाजवादी संगठनहरूलाई दबाउने बाटिस्टको नीति क्यास्ट्रोको आधारभूत राजनीतिक सिद्धान्तविपरीत थियो । बाटिस्ट सरकारविरुद्ध क्यास्ट्रोले आन्दोलन गर्ने निधो गरे । आन्दोलनकै लागि दी मुभमेन्ट नामक संस्था स्थापना गरे ।
बाटिस्टको सत्ताच्युत गर्नु मुभमेन्टको उद्देश्य थियो । बाटिस्टको शासनकालामा क्युबामा शंखलाबद्ध अपराध, वेश्यावृत्ति, जुवातास, लागूतस्करजस्ता विकृति व्याप्त थिए ।
ब्यारेक आक्रमणपछि पक्राउ र रिहा
सन् १९५३ मा क्यास्ट्रोले मोनकाडा आर्मी ब्यारेकमा आक्रमण गरे । सशस्त्र आन्दोलनका लागि सेनाको हतियार खोस्न गरिएको आक्रमण विफल भयो । धेरै विद्रोही मारिए । कोहीलाई पक्राउ गरियो । पक्राउ परेकामध्ये क्यास्ट्रो पनि एक थिए । उनलाई सोही वर्षको सेप्टेम्बरमा मुद्दा चलाइयो । अदालतमा उनले सेनाले गरेका दमनको बेलिबिस्तार लगाए ।
उनलाई १५ वर्ष जेल सजाय तोकियो । १९ महिनापछि क्षमा दिइयो र उनी रिहा भए । जेलको छोटो अवधिमा नै उनले पत्नीसँग सम्बन्धविच्छेद गरे । माक्र्सवादलाई अझै गहिरो अध्ययन गरे ।
मेक्सिको भागे, सशस्त्र समूह लिएर फर्के
बाटिस्ट सरकारले विरोधीको चरम दमन ग-यो । पक्राउबाट जोगिन क्यास्ट्रो मेक्सिको भागे । उनको भेट युवा क्रान्तिकारी नेता चे ग्वेभारासँग भयो । सन् १९५६ मा क्यास्ट्रो ८१ जनाको सशस्त्र समूहसहित क्युबा फर्किए । सो फौज सियरा मिस्ट्र पहाडमा लुकेर बस्न थाल्यो । यही पहाडलाई आधारक्षेत्र बनाएका क्यास्ट्रो र उनका सहयोगीले दुई वर्ष छापामार युद्ध सुरु गरे । सन् १९५९ को जनवरी २ मा विद्रोहीहरू हवाना प्रवेश गरे, बाटिस्ट ज्यान जोगाउन भागे ।
फिडेलको शासन
क्यास्ट्रोले नयाँ सरकार स्थापना गरे । सरकारले जनताको जग्गा फिर्ता गर्ने र गरिबको अधिकारको रक्षा गर्ने वाचा गर्यो । सरकारले एक पार्टी प्रणाली शासन लागू गर्यो । सयाैँ मानिसलाई राजनीतिक बन्दीको रूपमा जेल हाल्यो । हजाराैँ मध्यमर्गीय क्युबालीलाई देशनिकाला गरियो । सन् १९६० मा क्यास्ट्रोले अमेरिकी स्वामित्वमा रहेका व्यापारलाई राष्ट्रियकरण गरे । त्यसको बदलामा वासिंगटनले व्यापार प्रतिबन्ध लगायो । यो प्रतिबन्ध दशकौँ कायम रह्यो ।
अमेरिकी सहयोगमा आक्रमण
सन् १९६१ मा अमेरिकाले क्यास्ट्रो सरकारलाई च्यूत गर्ने प्रयास गर्यो । देशनिकाला गरेका केही क्युबालीले अमेरिकी सहयोगमा क्यास्ट्रोको सत्ताविरुद्ध विद्रोह गरे । बे अफ पिग्समा आक्रमण प्रयास भयो । तर, आक्रमणकारीलाई क्युबाली फौजले लखेट्यो । १ हजार पक्राउ परे । क्यास्ट्रो अमेरिकाको एक नम्बर शत्रु बनेका थिए ।
सयौँ हत्या प्रयासबाट जोगिए
अमेरिकी गुप्तचर निकायले उनको असंख्य हत्या प्रयास गर्यो । अमेरिकी गुप्तचर निकाय सिआइएले क्यास्ट्रोले खाने चुरोटमा विस्फोटक पदार्थ मिसाउने षड्यन्त्र गर्यो । आफूमाथि विभिन्न समयमा गरी ६ सय ३४ पटक हत्या प्रयास भएको क्यास्ट्रोले समेत दाबी गरेका थिए । ‘८० वर्ष पुग्न पाउँदा म वास्तवमै खुसी छु । यतिन्जेल बाँचौँला भन्ने मैले कहिल्यै आशा गरेको थिइनँ । संसारकै सबैभन्दा ठूलो शक्तिले मलाई दैनिक मार्ने प्रयत्न गरेको थियो,’ सन् २००६ मा अर्जेन्टिनामा आयोजित एक सम्मेलनमा क्यास्ट्रोले भनेका थिए ।
अमेरिकाले सन् १९६२ मा क्युबामाथि व्यापारिक प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि क्युबाले रुसबाट सहयोग पाइरह्यो । रुससँगको निर्भरताको बाबजुद पनि क्यास्ट्रोले क्युबालाई असंलग्न आन्दोलनको नेतृत्वमा पुर्याए ।
प्रचुर स्रोतसाधनले धनी ल्याटिन अमेरिकी मुलुक क्युबाली समाजमा असमानताको खाडल फराकिलो थियो । एकातिर अधिकांश क्युबाली अशिक्षित थिए भने अर्कोतर्फ जुवातास, वेश्यावृत्तिजस्ता विकृतिले समाज भ्रष्टउन्मुख बनेको थियो । त्यही वेला अमेरिकाले क्युबालाई एउटा क्रीडास्थल बनाउन चाहन्थ्यो । क्यास्ट्रो सरकारले हजारौँ चिकित्सकलाई तालिम प्रदान गर्यो । विद्यालय तहमा निःशुल्क शिक्षा घोषणा गरियो ।
कलकारखाना तथा उद्योगधन्दा स्थापना भए । अमेरिकी प्रतिबन्धविरुद्ध उनी डटेर लडे । सन् १९९१ मा कम्युनिस्ट ब्लक विघटन भएपछि क्यास्ट्रोको कम्युनिस्ट शासन नटिक्ने अनुमान गरिएको थियो, तर सबै भ्रमलाई चिर्दै उनले देशलाई एउटा समृद्ध मुलुकको रूपमा डोर्याए । उनले सन् २००८ देखि आफ्नै भाइ राउलाई शक्ति हस्तान्तरण गरेका थिए ।