टोकियोमा नेपाली पत्रकारहरुबीच अन्तरक्रिया, सहकार्यमा जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा एक दर्जन बढी सक्रिय पत्रकारहरू सहभागिता रहेको थियो ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय सदस्य भुषण घिमिरे, पत्रकार महासंघ जापान शाखाका सल्लाहकार वेलुकाजी थापा, पवनवर्षा शाह, कृष्ण प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुले जापानमा रहेका नेपालीहरुको मुख्य विषयहरु, पत्रकारिता गर्दाका चुनौती, समाचार श्रोत र तथ्यगत विषयहरुका विषयमा आफ्ना धारणा राखेेेका थिए ।

प्रमुख अतिथि भुषण घिमिरेले समाचार लेख्दा पत्रकार भएर लेख्ने तथा पाठक भएर पढ्ने र सम्पादक भएर पुर्नलेखन गर्ने हो भने समाचारमा भएका धेरै त्रुटी आफैं समाधान हुनेमा जोड़ दिए ।

महासंघका सल्लाहकार बेलुकाजी थापाले जापानमा रहेका नेपालीहरुका समस्या र चासोका विषयसँगै नेपालमा रहेका नेपालीहरुलाई जापानबारे सूचना र जानकारी दिएर जापानमा रहेका पत्रकारहरुले सूचना केन्द्रको रुपमा काम गर्न सक्ने धारणा राखे ।

यसैगरी सल्लाहकार कृष्णप्रसाद भण्डारीले पत्रकारहरुले समाचार लेख्नकै लागि डराउनुपर्ने अवस्था नरहेको भन्दै जापानजस्तो देशमा रहेर तथ्यगत विषय प्रस्तुतीमा कलम
चलाउन आग्रह गरे ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा सल्लाहकार पवनवर्षा शाहले जापानमा रहेको केही अग्रज व्यक्तिहरु नै समाचारको विषय, तथ्य र श्रोतबारे केही नबुझेको भन्दै पत्रकार र पत्रकारिताबारे बुझेको थोरै व्यक्तिहरुका कारण नै जापानमा नेपाली पत्रकारिता जिवित र चलिरहेको बताइन ।

पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले जापानमा क्रियाशिल सबै पत्रकारहरुलाई तथ्यगत विषय, सत्य समाचार तथा नेपालीहरुको हितमा कलम चलाउन आग्रह गर्दै सदैव महासंघको साथ रहने प्रतिवद्धता व्यक्त गरेे ।

पत्रकार महासंघ जापान शाखाका सहसचिव कुमार मोक्तानले संचालन गरेको सो कार्यक्रम सदस्य शान्त पहरीले उपस्थित सबैलाई मन्तब्यद्वारा स्वागत गरेका थिए ।

Loading...