मानवअधिकार संस्थाको गम्भीर खुलासाः कुमार पौडेल भिडन्तमा होइन, नियन्त्रणमा लिएर मारिएका हुन (अनुसन्धानको पूरा रिपोर्ट)

काठमाडौं । सर्लाही घटनाबारे मानव अधिकारवादी संस्थाकाे एक अनुसन्धानले गम्भीर खुलासा गरेकाे छ । इन्सेक र एड्भोकेसी फोरम नेपालले स्थलगत अध्ययन गरी अनुसन्धानकाे प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाइ नियन्त्रणमा लिइ मारिएकाे उल्लेख गरिएकाे छ । 

प्रहरीले दावी गरेअनुसार कुमार पाैडेल दोहोरो भिडन्तमा मारिएको भन्ने कुरामा कुनै आधार नभेटिएको प्रतिवेदनले निष्कर्ष निकालेको छ। इन्सेक र एड्भोकेसी फोरम नेपालले पौडेलको मृत्युबारे नेपाल प्रहरीले मुडभेड चित्तबुझ्दो जवाफ दिनुपर्ने निष्कर्ष निकालेका छन ।

‘कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्न सकिने विश्वसनीय आधार देखिएन’, प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय व्यक्तिको कथन अनुसार घटना भएको दिन स्थानीयबासीलाई बिहानैदेखि घटनास्थलमा आवतजावतमा रोक लगाइनु, स्थानीय प्रहरीलाई घटनाबारे जानकारी नहुनु, दोहोरो गोली हानाहानको घटना भनिए पनि स्थानीयवासीले दोहोरो भिडन्तमा गोली चलेको आवाज नसुन्नु जसका कारण हुन्।’

भूमिगत अवस्थामै पौडेल गत असार ५ गते अन्दाजी दिउँसो सर्लाहीमा प्रहरी इन्काउन्टरमा मारिएका थिए। यही इन्काउन्टरको विषयमा दुबै संस्थाले संयुक्त रुपमा ६, ७ र ८ गते स्थलगत अध्ययन गरेका थिए।

पक्राउ परेपछि मात्र पौडेलमाथि गोली चलाइएको समेत प्रतिवेदनमा उल्लेख छ । ‘कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिए पश्चात् गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेकाले यस घटनाको निष्पक्ष अनुसन्धानका लागि छुट्टै उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने देखिन्छ’, उक्त प्रतिवेदनमा भनिएको छ।

घटनाका बारेमा अनुसन्धानकर्तासँग सम्बन्धित मानिसले दिएको बयान :

सूर्यबहादुर कार्की, प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय, नवलपुर, सर्लाही : घटना भएको दिन बकपत्र रहेकोले म जिल्ला अदालत गएको थिएँ। कुमार पौडेलको शव पोष्टमार्टम बारेमा पनि थाहा भएन। घटना मुचुल्का इलाका प्रहरी कार्यालय, लालबन्दीबाट भएको हो। यो कार्यालय इलाका प्रहरी कार्यालय, लालबन्दी मातहत पर्छ। इलाका प्रहरी कार्यालय, लालबन्दीले घटनाको अनुसन्धान गर्दैछ।

गोपालचन्द्र भट्टराई, एसपी, जिल्ला प्रहरी कार्यालय, सर्लाही : तीन चार दिनदेखि चन्दा आतङ्क बढेको थियो। कुमार पौडेलले चन्दा नदिए मारिदिने धम्की दिएको भन्ने कुराको गुनासो आउने गरेको थियो। यो सुनियोजित घटना होइन। प्रहरी गस्तीमा थियो। दुई ओटा मोटरसाइकलमा चार जना थिए। एउटा अनटेस्ट लेखेको बाइक थियो। प्रहरीले त्यस्तो बाइकमा बढी ध्यान दिन्छ। त्यसैक्रममा उनीहरूले प्रहरी गस्ती टोलीमाथि गोली फायर गरे। प्रहरीले पनि आत्मरक्षाका लागि गोली फायर ग¥यो। दोहोरो फायरिङ् भयो। कुमार पौडेललाई गोली लाग्यो। अन्य तीन जना जङ्गलतिर भागे। सो घटनाको बारेमा थाहा पाएपछि म आफैँ घटनास्थल पुगेँ। घटना सम्बन्धमा स्थानीय निकायमार्फत पीडित परिवारसँग सम्पर्क कार्य गरिएको छ। दिन दहाडै त्यहाँ गएर नियन्त्रणमा लिएर मार्ने ठाउँ होइन। कुमार पौडेल विरूद्ध चार ओटा मुद्दा दर्ता भएको छ। उनी प्रहरीको खोजी सूचीमा थिए। उनलाई पक्राउ गर्न निर्देशन आएको थियो।

डा. वीरेन्द्र मण्डल, चिकित्सक (पोष्टमार्टम गर्ने चिकित्सक), मलङ्गवा अस्पताल, सर्लाही : शवको पोष्टमार्टम भयो। हात र टाउकोमा गोली लागेको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ। विस्तृत विवरण पोष्टमार्टम रिपोर्टमा आउँछ।

हरिबहादुर कार्की, मृतकका मामा : भान्जा कुमार पौडेल विप्लव समूहसँग आबद्ध थिए। भान्जा कुमारलाई प्रहरीले गोली हानी हत्या गरे। उनीसँगै रहेका तीन जना भागेको, कुमारमात्रै मारिएका छन्। स्थानीय व्यक्तिको भनाइअनुसार एक डेढ घण्टा जति नियन्त्रणमा राखेको, यातना दिएकोे सुनियो। मान्छेलाई मार्न नै पाइँदैन। कुनै कसुर गरेको भए जेल पठाएको भए पनि हाम्रो विमति हुने थिएन। घटनास्थलमाथि हिरापुर भन्ने बस्ती छ। बस्तीमा गिरफ्तार गरेको र भान्जालाई घिसार्दै तल ल्याएर मारेको हो।

किरणप्रसाद न्यौपाने, प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय, लालबन्दी, सर्लाही : मैले असार ५ गते दिउँसो २ बजे घटनाबारे थाहा पाएँ। म नगरपालिकाको कार्यक्रममा थिएँ। घटना भएको १५–२० मिनेटमा म घटनास्थल पुगेको हो। उक्त प्रहरी टोलीमा यस कार्यालयको कोही पनि सहभागी थिएन। कुमार पौडेल बागमती आयोजना लगायतको मुद्दामा फरार आरोपित हुन्। इलाका प्रहरी कार्यालय, बरहथवामा उनीमाथि बम विष्फोटको मुद्दा पनि चलेको छ। घटनास्थलबाट बरामद दुई मोटरसाइकल कार्यालयमा राखिएको छ। त्यस्तै कुमार पौडेलको साथबाट बरामद सामग्रीहरू पनि कार्यालयमा राखिएको छ।

धनकुमारी पौडेल, मृतककी पत्नी : प्रहरीले मेरो पतिको हत्या गर्‍यो। अब कसको सहारामा बाँच्नु ? जेठ ३ गते माइत गएको थिएँ। १५ दिन जति माइतीघरमा बसेँ। जेठ १७ गते पति कुमार पौडेल मलाई लिन आउनु भयो। जेठ १९ गते माइतबाट फर्किने क्रममा नहरसम्म मोटरसाइकलमा छोड्न आउनु भयो। त्यसपछि घर आउनु भएको थिएन। घटना हुनुभन्दा पहिला १२ बजे फोन गर्नु भएको थियो। सञ्चो बिसञ्चो कुरा गर्नुभएको थियो।

हरिकृष्ण पौडेल, मृतक कुमार पौडेलको कान्छा भाइ : मेरो दाजु कुमार पौडेल विगत ३—४ वर्षदेखि विप्लवले नेतृत्वको नेकपामा संलग्न हुनुहुन्थ्यो। सो भन्दा अगाडि चुरे भावर एकता समाज पार्टीमा हुनुहुन्थ्यो। दाइले गाँउमा बसेर राजनीति गर्दै आउनु भएको थियो। नेपाल सरकारले २०७५ साल फागुन महिनादेखि सो पार्टीलाई प्रतिबन्ध लगाएपछि दाइ घरमा आउनु भएन। तर बेलावखत भेटघाट तथा फोनमा कुराकानी हुने गरेको थियो। दाइको प्रहरी प्रशासनका व्यक्तिसँग राम्रै सम्बन्ध रहेको र उनीहरु (प्रहरी—प्रशासनका व्यक्ति) सँग कुराकानी पनि हुने गरेको थियो। दाइको हत्या भएको कुरा सो दिनको अन्दाजी १—२ घण्टा भित्रै फेसबुक र अन्य व्यक्तिहरुबाट थाहा पायौँ । शुरुमा हामीलाई विश्वास नै लागेन। किनभने दाइले भाउजुलाई दिनको १२:०० बजेतिर आफैँले फोनमा कुराकानी गर्नु भएको थियो। सो कुराकानी समान्य रुपमा भएको र फेरि पछि गर्छु भन्नु भएको रहेछ। सोको केही समयपछि नै दाजुको हत्या भएको भनी खबर आयो। त्यसपछि हामी इलाका प्रहरी कार्यालय, लालबन्दी (सर्लाही) र सो पछि इलाका प्रहरी कार्यालय, नवलपुर (सर्लाही) मा गयौँ उहाँहरुले कुनै किसिमको जानकारी नरहेको भनी जवाफ दिनु भएको थियो। दाइको दोहोरो भिडन्तमा मृत्यु नभएको हुँदा घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दछु।

पञ्चलाल स्याङ्बो, वडा अध्यक्ष, लालबन्दी नपा–१ जङ्गल टोल : घटनाको दिन म वडा कार्यालयमा थिएँ। सशस्त्र प्रहरी क्याम्प नवलपुरबाट फोन आयो। तपाइँको वडा लखनदेही खोलामा घटना भयो, केही थाहा छ कि भनि सोध्यो।मलाई केही थाहा भएन भनेर जबाफ दिएँ। हरिभवन नपा–३ मा मेरो भाइको घर छ। त्यतातिर घटना भयो कि भनेर भाइलाई फोन गरेर सोधेँ। उनलाई पनि थाहा थिएन। लगतै सांसद डिल्ली उप्रेतीले फोन गर्नुभयो। तपाईँको वडामा घटना भयो। मैले बुझ्दैछु भन्नुभयो। नवलपुर प्रहरीको सईलाई फोन गरेर घटना के भएको हो भनेर सोधेँ। प्रहरीको कारबाहीमा कुमार पौडेलको मृत्य भयो’ भनेर जबाफ दिए। तीन महिना अगाडि कुमार पौडेल मोटरसाइकल सर्भिसिङ् गर्न नवलपुर आएका थिए। त्यतिबेला पौडेलसँग भेट भएको थियो। सँगै नास्ता पनि खायौँ। पार्टीको अभियानमा लागेको छु भनेर केही कुरा गर्‍यो। आर्थिक सहयोगका लागि केटाहरू आए सहयोग गर्नु भनेको थियो। त्यसपछि छुटियौँ। एक्कासि यो घटना भएको सुनियो। २ :३० बजे मेरी पत्नीले घरबाट फोन गरिन्। ६ देखि ७ ओटा प्रहरी भ्यान, एउटा एम्बुलेन्स आफ्नो घर नजिकबाट दक्षिणतिर जाँदै गरेको उनले बताइन्।

प्रहरीले घटना स्थलतिर कसैलाई जान दिएको थिएन। लास एम्बुलेन्समा राखेर गएको र उक्त लासलाई प्लास्टिकमा बेरेर राखिएको पत्नीले सुनाइन्। घटनास्थलमा म गएको छैन। त्यो दिनभर वडा कार्यालयमा बसेँ। ५ बजे घर गएँ। ८ बजे राति नवलपुर प्रहरी कार्यालयको सईले फोन गरेर कार्यालयमा आउन आग्रह गरे। मैले आउन गाडी छैन भनेपछि सइले घरमै गाडी पठाइदिए। मलाई घटनास्थल मुचुल्कामा सही गर्न भनियो। मैले शव हेरेको छैन। घटनास्थल हेरेको छैन। मैले कसरी मुचुल्कामा सही गर्ने ? भनेर प्रश्न गरेँ। मलाई कुमार पौडेलको घटनास्थलको फोटोहरू हो भनेर देखाइयो। फोटो स्पष्ट छैन भनेँ। पछि कुमार पौडेलको अनुहार भएको फोटो देखाइयो। छातीमा गोली लागेको एउटा फोटो, र टाउकोमा गोली लागेको अर्को फोटो देखाइयो। शव भने हेर्न दिइएन।

तीन पेजको मुचुल्का बनाएको रहेछ। मुचुल्कामा लेखिएको विषय पढेर सुनाइएन। दोहोरो भिडन्तमा कुमार पौडेलको मृत्यु भएको, तीन जना भागेको र तपाइँको वडामा घटना भएको भनी मुचुल्कामा सहीछाप गराए। भोलिपल्ट पुन : प्रहरी घरमा आए र मुचुल्कामा तीन जना फरार व्यक्तिको नाम छुटेकाले सच्याएर ल्याएको छौँ भन्दै पुन : मुचुल्कामा सही गराए। गाउँलेहरू घटनास्थलमा गोली नै नचलेको बताउँछन्। गाईवस्तु चराउनेहरूलाई प्रहरीले आवतजावत गर्न रोक लगाएको थियो। घटना दोहोरो भिडन्त नभएको हुँदा घटनाको निष्पक्ष छानविन होस्।

स्थानीय, लालबन्दी नपा–११ हिरापुर : गोलीको आवाज सुनिएको छैन। सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनास्थलतिर जान सबैलाई रोक लगाइएको थियो।स्थानीय घटनाबाट डराएका छन्। सोधपुछ गरेर गएपछि प्रहरी आउँछ कि भन्ने डर र त्रास स्थानीयमा रहेको छ। घरमा पनि कसैले गोली चलेको नसुनेको बताउँछन्। यो घटना दोहोरो भिडन्त हुँदै होइन।

यस्ताे छ पूरा प्रतिवेदन

Loading...