३८ हजार अस्थायी शिक्षक दरवन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमाबि र माबि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरवन्दी थप्ने तयारी गरेको हो ।

स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहेको तथ्यांक संकलन गरेको छ । बिद्यार्थीको अनुपातमा शिक्षकको संख्या पुरयाउन देशभरका बिद्यालयलाई ६० हजार शिक्षकको आवश्यकता छ । तर हाललाई ३८ हजार नयाँ दरवन्दी शिर्जना गर्ने तयारी मन्त्रालयले गरेको छ ।

‘नयाँ दरवन्दी शिर्जना गर्ने काम अन्तिम चरणमा पुगेको छ । केही प्राविधिक बिषय मिलाउन बाँकी छ’ मन्त्रालय स्रोतले भन्यो ‘एक महिनाभित्र प्राविधिक समस्या पनि हल हुन्छ र दरवन्दी शिर्जना हुन्छ ।’

सरकारले लामो समयदेखि अस्थायीरुपमा कार्यरत शिक्षकहरुलाई गोल्डेन अफर दिएर विदा गरेको छ । कतिपय शिक्षकहरु गोल्डेन अफर लिएर घर पुगिसकेका छन् भने कतिपय अझै आन्दोलनमा छन् । आन्दोलनमा रहेका शिक्षकलाई लक्षित गरी नयाँ शिक्षक दरवन्दी कायम गर्न लागिएको होइन । प्रतिस्पर्धाका आधारमा नयाँ अस्थायी शिक्षक भर्ना गर्नका लागि दरवन्दी शिर्जना गर्न लागिएको छ ।

अस्थायी शिक्षक नियुक्तिको जिम्मा स्थानीय तहलाई दिनेकी जिल्लाको शिक्षा इकाईलाई दिने भन्ने विवाद अझै सुल्झिएको छैन । स्थानीय तहलाई दिँदा राजनीतिक नियुक्ति हुने आँकलन शिक्षा मन्त्रालयले गरेको छ । तर स्थानीय तहले भने यो अधिकार आफुलाई दिन माग गरिरहेका छन् ।

Loading...