अमेरिकामा गोली हानी २० जनाको हत्या २६ घाइते

जनतालाई हतियार राख्न दिने कि नदिने भन्ने विषयमा ठूलो बहस हुँदै आएको अमेरिकामा शनिवार एक व्यक्तिले गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।

टेक्सास राज्यको इल्पासो शहरमा भएको उक्त हमालामा बन्दुकधारीले चलाएको गोली लागि २० सर्वसाधारणको ज्यान गएको हो । उक्त हमालामा परि २६ सर्वसाधारण घाइते भएका छन् ।

शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको स्थानीय सञ्चारमाध्यम इल्पासो टाइम्सले जनाएको छ । इल्पासो टाइम्ससंग प्रहरी प्रमुख एलेनले घटनाको पहिलो सूचना पाएको ६ मिनटमा प्रहरी पुगेपनि हताहती भैसकेको अवस्था रहेको जिकिर गरेका छन् ।

उक्त गोलीकाण्ड मच्चाएको आरोपमा एक २१ वर्षका युवक पक्राउ परेका छन्। उनको नाम प्याट्रिक क्रुसियस रहेको बताइएको छ । उनीउपर थप छानवीन भैरहेको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारी हत्यारा ६ फिट अग्लो थिए र उनले एके -४७ बोकेर अन्धाधुन्ध गोली वर्साएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताएका छन् ।

Loading...