आतंकवादी हमला हुनसक्ने चेतावनीसहित अमरनाथ छाड्न सरकारको निर्देशनपछि हजारौ तिर्थयात्री फर्किए

नयाँ दिल्ली । विश्वभरबाट ४५ दिने अमरनाथ यात्रामा आएका हिन्दु तीर्थयात्रीलाई सकभर छिटो घर फर्किन भारतीय प्रशासनले गरेको आग्रहसँगै पूजा र प्रार्थनाका लागि त्यहाँ पुगेका यात्रुहरू हतारमा आफ्नो गन्त्व्यतिर लागेका बताइएको छ ।

भारत–प्रशासित कश्मिरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्रा रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँ पुगेका हिन्दु तीथयात्रीहरू, उक्त क्षेत्रमा रहेका विद्यार्थीहरू शनिबार हतारमा आफ्ना घरतर्फ जान हजारौँको सङ्ख्यामा बस स्टेसनहरूमा पुगेका थिए । सरकारी निर्देशनले स्थानीयमा पनि त्रास र भ्रम उत्पन्न भएको बताइएको छ ।

जम्मु–कश्मिर राज्य सरकारले शुक्रबार एक निर्देशन जारी गर्दै ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको थियो ।

भारतको केन्द्र सरकारले कश्मिरमा केही हप्ता पहिले थप १० हजार सुरक्षाकर्मी तैनाथ गरेको र आतङ्कवादी हमला हुनसक्ने भन्दै गरेको पछिल्लो निर्देशनले स्थानीय बासिन्दामो भय उत्पन्न गराएको हो । यहाँका वासिन्दाले अवस्था लामो समयसम्म खराब हुने त्रासले खाद्यान्न, औषधि, इन्धनसमेत जम्मा गर्न थालेपछि स्थानीय बजारहरूमा सामन किन्नेहरूको भीड हुन थालेको देखिएको छ । आफ्नो परिचय नखुलाउने सर्तमा एक उच्च प्रहरी अधिकारीले भने, “आफूहरुलाई ‘वृहद स्तरको कानून व्यवस्थाको लागि तयार रहन’ भनिएको र यसका लागि हामीहरू तयारी अवस्थामा छौँ ।”

“विगत ३० वर्षदेखि मनोवैज्ञानिक युद्ध चलिरहेको छ र त्यो हामीविरुद्ध चालिएको छ । यहाँका मानिस मारिरहेको कुरातर्फ विश्वले आखाँ चिम्लेर बसेको छ । उनीहरुलाई हामीमाथि के भइरहेको छ भन्ने कुराको कुनै मतलब छैन,” श्रीनगरका ५५ वर्षीय एक व्यापारी नाजिर अहमदले भने ।

“शनिबार बिहानदेखि मैले मानिस गेडागुडी, चामल र पिठो किन्न हतारिएको देखिरहेको छु । मानिस के हुन लागेको भने चिन्तित छन् ।”

सन् १९४७ मा स्वतन्त्र भएपछि भारत र पाकिस्तानले कश्मिरलाई विभाजन गरेका थिए । त्यस यता कश्मिरकै विषयमा यी आणविकशस्त्र सम्पन्न दुई छिमेकीबीच तीनपटक युद्ध भइसकेको छ ।भारतले यस क्षेत्रमा सक्रिय कयैन सशस्त्र विद्रोहीलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाउँछ । तर इस्लामावादले भने यसलाई खण्डन गर्दै आएको छ ।

कश्मिर उपत्यका र विद्यामान पाकिस्तानसँगको सीमाना (एलओसी)मा गरेर लाखौँको सङ्ख्याम सैनिक तैनाथ छन् । कश्मिर विश्वमै धेरै सेनाको उपस्थित रहेको क्षेत्र मानिन्छ । अनुगमन समूहका अनुसार भारत प्रशासित कश्मिरको द्वन्दमा विगत ३० वर्षमा ७० हजार मानिसको ज्यान गइसकेको छ । युद्धमा अधिकाशं सर्वसाधारणको ज्यान गुम्ने गरेको स्थानीयको भनाइ छ ।

Loading...