साविक उमावि शिक्षकहरुको स्थायित्वको लागि सडक संघर्ष गर्ने चेतावनी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् ।

कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् ।

साविक उच्च माध्यमिक शिक्षक युनियन(हिस्टुन)ले शुक्रवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै युएण्टो अध्यक्ष अधिकारीले शिक्षकहरुको न्यायका लागि जस्तोजुकै मूल्य चुकाउन आफुहरु तयार रहेको उद्घोष गरे ।

‘साविक उमाविका शिक्षकहरु ०४९ साल देखि अध्यापन गरिरहेका छन् । उनीहरुले पढाएका विद्यार्थीहरु मन्त्री, सचिव, अर्बपति, जर्नेलहरु भइसके उनीहरुको स्थिति अहिले पनि उस्तै छ । अधिकारी भने– ‘यदि शिक्षा ऐनमा यी मुद्दाहरूको सुनुवाइ नभए हिजो बानेश्वरको काडेतार राहत, विद्यालय कर्मचारी र बाल विकास र साविक उमावि शिक्षकले गरे अब काँडेतार च्यात्न र आन्दोलनको नेतृत्व गर्न युएण्टो र शिक्षक महासंघ तयार छ ।’

‘गुणस्तरीय शिक्षक कर्मचारीको परिभाषा कसरी गर्ने ? कन्ठ गरेर ३ घण्टाको पेपर पेन्सिल टेस्ट मात्र आधार हुन सक्छ ? बाल मनोविज्ञान र मेथोडको ज्ञान, सीप हुनुपर्ने कि नपर्ने ? अधिकारीले प्रश्न गरे । ’एकीकृत परीक्षा प्रणाली हुनुपर्छ, लिखित, मौखिक र प्रयोगात्मक अनि समग्रमा रिजल्ट प्रकाशन गर्नुपर्छ ।’

गुणस्तरीय शिक्षाको सुचक शिक्षक मात्र हुन् कि अन्य वातावरण पनि हुन्छ ? प्रश्न गर्दै अधिकारीले सन २०१५ बाट चौथो औद्योगिक क्रान्ति को शुरुवात भएसँगै आर्टिफिसियल इन्टेलिजेन्सहरु मानव शक्तिको विकल्पमा प्रयोग हुन थालेको बताए ।

राज्य शिक्षाको उत्तरदायीत्वबाट पछि हट्ने, स्वयंसेवक शिक्षक, अनुदान शिक्षक राख्न तिर उद्दत रहेको उनको भनाई थियो ।

शिक्षामा निजीकरण, व्यापारीकरण हावि रहेको र बाघ र बाख्रा प्रतिस्पर्धामा उतारिरहेको छ भन्दै उनले राज्य, राज्यको नीतिनिर्माता रेगुलेटरी क्याप्चरको जालोमा फसेको आरोप लगाए ।

राज्यले वातावरण तयार गरे शिक्षकहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रने विद्यार्थी उत्पादन गर्न तयार रहेको अधिकारीले दाबी गरे ।

हिस्टुनको लडाइ नेपाल शिक्षक महासंघसँग हुनुहुँदैन भन्दै अधिकारीले बिरोधीहरु शिक्षक कर्मचारीहरु तथा श्रमिकहरु फुटाउन तल्लीन रहेको आरोप लगाए ।

१७ प्रकारका शिक्षकहरु र १७ थरिका संगठनले पेशागत मुद्दा ओझेलमा पर्ने र परिणाम ननिस्कने भन्दै उनले ७७ जिल्लामा शैक्षिक नेतृत्व गरिरहेका हिस्टुनका नेतृत्वलाई अब महासंघमा आएर नेतृत्व गर्न अधिकारीले आग्रह गरे ।

Loading...