अन्ततः एमालेले म्याँउ गर्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्।

शहिद शिक्षक स्मृति केन्द्र, सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै प्रचण्डले शिक्षासम्बन्धी विधेयक, शिक्षक आन्दोलन र पछिल्लो राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको धारणा प्रष्ट पारे।

उनले शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था संविधानले नराखेको भए पनि सरकारको कार्यान्वयनको कमजोरीले सडकमा आउन बाध्य बनाएको बताए। “माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरूलाई अपमान सहनु पर्ने थिएन,” प्रचण्डले भने।

पूर्वप्रधानमन्त्री प्रचण्डले नेतृत्वमा रहँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाए। “सरकार तयार नभएपछि तपाईंहरू आन्दोलनमा जानुपर्‍यो, तर सरकारबाट अपमानजनक व्यवहार भयो,” उनले बताए।

शिक्षा विधेयकबारे प्रचण्डले संसदमा गरिएको संशोधनप्रति आपत्ति जनाउँदै भने, “हामीले शिक्षकको माग सम्बोधन गरेर विधेयक अगाडि बढाएका थियौं, अहिले त्यसमा सड्यन्त्र गरिएको छ।”

संघीय निजामति सेवा ऐनमा गरिएको संशोधनप्रति टिप्पणी गर्दै प्रचण्डले एमालेको व्यवहारलाई व्यंग्य गर्दै भने, “कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो।” एमाले सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रको शंका पुष्टि भएको उनको भनाइ छ।

प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको अभाव रहेको उल्लेख गर्दै भने, “एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारी नै अन्योलमा छ।” उनले ओलीले मदन भण्डारीप्रति व्यक्त गरेका भनाइहरूको पनि आलोचना गर्दै वैचारिक दिशाविहीनता देखिएको दाबी गरे।

उनले माओवादी केन्द्रलाई अहिले पनि जनतासँग जोडिने प्रक्रियामा सक्रिय रहेको भन्दै आठौं महाधिवेशनको नीतिअनुसार प्रत्यक्ष सम्पर्क अभियानमा लागेको बताए। “बैचारिक र राजनीतिक नेतृत्वको स्पष्टता अहिले माओवादी केन्द्रमै छ,” प्रचण्डको भनाइ थियो।