शिक्षकका माग सम्बोधन नगरे परिणाम राम्रो हुँदैन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने र त्यसको मूल्य सरकारले चुकाउनुपर्ने स्पष्ट पारे ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्न चुनौतिपूर्ण रहेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले विधेयकलाई तत्काल पारित गर्न जोड दिएका छन् ।

“अहिले जे-जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,” उनले भने, “तर, मुख्य कुरा इच्छाशक्तिको हो। शिक्षा र शिक्षकको विषय सरकारको प्राथमिकतामा नपर्दा यसमा ढिलाइ भएको छ।”

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए ।

´शिक्षा भौतिक पूर्वाधारको पनि पूर्वाधार हो। विकासले गति नलिनु, अराजकता फैलिनु, नैतिक मूल्यमा ह्रास आउनुको मुख्य कारण शिक्षाबारे सही र एकरूप बुझाइ नहुनु हो, उनले भने, “म सरकारमा हुँदा विद्यालय शिक्षा सुधारसम्बन्धी विज्ञको प्रतिवेदन संकलन गर्नै धेरै समय लाग्यो। पछि त्यसलाई कार्यान्वयन गर्न खोजिए पनि अहिले सरकारले अघि बढाउन खोजेको छैन।”

प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने बिश्वास व्यक्त गरेका सो अवसरमा सहभागी शिक्षक नेता शंकर अधिकारीले जानकारी गराए ।

“डू एण्ड डाइको अवस्थामा छौं,” शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्डसंग भने, “विगतमा पनि शिक्षकका मागको मागको पक्षमा सतिसालझैं उभिनुभयो । यसपटक पनि काँध थाप्न अनुरोध छ।” उनीहरुले थपे, “माओवादीले संसदमा दबाबमूलक भूमिका खेलोस् भन्ने उदेश्यले यहाँ आएका छौँ ।”

यस अघि आन्दोलनरत शिक्षकहरुले शुक्रबार नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा धर्ना कार्यक्रम सम्पन्न गरी सो पार्टीका महासचिव देव गुरुङलाई आफ्ना मागबारे ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि शनिवार शिक्षक महासंघका प्रतिनिधिसंग भेट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टी शिक्षकहरु संगै रहेको आश्वस्त पारेका हुन् ।