स्लिप प्यारालाइसिस

कसर म धेरै सपना देख्ने गर्दछु । परीक्षाको समयमा मेरा सपनाहरु अझ केही विशेष हुने गर्दछन् । स्नातक तह पढ्दा पहिलो वर्ष देखि अन्तिम वर्ष सम्म नै मलाइ यस्तै सपनाहरुले सताउने गर्दथे ।

भोलि वातावरणीय कानूनको परीक्षा थियो । रातको एघार बजिसकेको थियो । कोठा बाहिरबाट बेला बेलामा झ्याउँकिरी कराएको आवाज आइरहेको थियो बाँकी सबै सुनसान थियो । घरमा अरु सबै निदाइसक्नु भएको थियो । गर्मीले मेरो निधारबाट पसिना आइरहेका थिए । तर अझै एउटा पाठ पढेर भ्याउन बाँकी नै रहेको थियो ।

रातको बाह्र बजे¸ बाहिर चकमन्न अँध्यारो र निस्तब्ध शान्त भइसकेको थियाे । सायद रातमा सक्रिय चराचुरुङ्गी पनि अँध्यारोले शान्त बसेका थिए । झ्याउँकिरी पनि गीत गाउन भुलेर निदाएको थिए ।

मैले भने बल्ल तल्ल सबै पाठ पढेर भ्याएकाे थियाे । घडी हेरेको रातको बाह्र पैतालीस भइसकेको रहेछ । साेचे । अब त सुत्नु पर्छ । नत्र फेरि भोलि पनि परीक्षामा अनिदो भइन्छ ।

अनि निदाउनको लागि भनेर बिस्तारामा पल्टिए । तर, पटक्कै निद्रा लागेन । यता कोल्टे फेर्छु उता कोल्टे फेर्छु तर निन्द्रा लाग्दै लागेन । जबरजस्त निदाउने प्रयास गरेँ । बल्ल बल्ल अर्धनिन्द्रामा प्रवेश गरेँ । त्यहीबेला मलार्इ एउटा अनाैठाे छायाले छोप्याे । आँखा बटारिएर बन्द भए । एकाएक उकुसमुकुस भयाे । सासै फेर्न निकै गाह्राे भयाे । हात खुट्टा चलाउन खोजेँ तर पूरै जमेका थिए हातखुट्टा । कति प्रयास गरेँ तर न त हात खुट्टाका ‌औँला चले न त आँखा नै खुले । 

सिरकले मुख ढाकेको रहेछ । म पूरै निसासिएकाे थियाे । लाग्याे मस्तिस्क र शरीर बीच पूरै सञ्चार सम्पर्कविच्छेद भएको थियाे । धिपधिप गर्दै सास रोकिन लागेकाे थियाे । न त आँखाका परेला खोल्न सकेकाे थिए न त जमेका हात गोडा नै चलाउन सकेकाे थिए । बिस्तारै जिब्रो हल्लाउने प्रयास गरेँ । बल्ल बल्ल जिब्रो हल्लियो । बोल्नको लागि आवाज निस्कने भए कोठाको अर्को खाटमा मस्त सुतिरहनुभएको आफ्नो दाइसँग गुहार माग्ने थिए, ‘दाइ ! मलार्इ उठाइ दिनुस न, म सास फेर्न चाहन्छु ।’ कुनै उपाय निस्किएन । 

बल्लबल्ल खुट्टाका औँला¸ हातका औँला चलमलाए । औँलाकै सहायताले भए पनि सिरक अलिकति तल ताने । आँखा खुल्याे । अलिअलि भए पनि सास लिँए । लाग्याे बल्ल बल्ल आजको खड्को नि टर्यो । अब त बाँचियो ।

झ्यालका पर्दा खुल्ला भएकाले अँध्यारो भए पनि बाहिरका आकृतिहरु केही भेउ पाइरहेकाे थिए । आकाश खुल्ला थियो । रात अलि गर्मी नै थियो । हावा नचलेको हुनाले उकुसमुकुस थियो ।

म बिस्तारै घुँडा खुम्च्याउदै कोल्टे फेर्न लागेको थिए । एकाएक फेरि मलाई छायाले छोप्यो । मेरो सास फेरि रोकिन थाल्याे । हातखुट्टा फेरि मुढो जस्तै बन्दै जान थाले । आँखाका परेला फेरि बटारिए । अनुहारबाट सिरक हटेकाले धन्न अलिअलि भए पनि सास लिए । मलाई यस्तो अनुभव हुँदै थियो कि मेरो छातीमा मोटो घनले हानेर ठूलो काँटी ठोकिएको छ तर मलाई दुखेको थिएन । र, त्यही छातीलाई मियो मानेर मेरा हातखुट्टा बेजोडले घुम्दैछन् । म तीन चार कक्षा पढ्दा विद्यालयमा रोटे पिङ खेल्ने गर्दथे । कोही रोटे पिङ भित्र बसेर बेस्सरी रोटे पिङ हल्लाउँदै हुन्थे । सिट पाउनेहरु सिटलाई बेस्सरी समातेर बसेका हुन्थे । सिट नपाउनेहरु सिटलाई समातेर झुण्डिदैँ दौडिएका हुन्थ्यौँ । जब रोटे पिङको गति अति तीब्र हुन्थ्यो तब हाम्रो शरीर तनक्क तन्किएको हुन्थ्यो । त्यो तीब्र गतिमा घुम्दै गरेको रोटे पिङको सिटबाट कतै हात छुट्टिएर टाढै हुत्तिएर बजारिन्छौ कि भन्ने डरले हातले कसिलोसँग सिटमा समातेर झुण्डिएका हुन्थ्यौ¸ शरीर र खुट्टा घुम्दै हावामा तैरिरहेका हुन्थे । तिहारमा लठ्ठे पिङ खेल्दा माथि पुगेर तल झर्दै गर्दा लागे झै कहाली लागिरहेको हुन्थ्यो ।

छातीमा गडेको नदुख्ने ठूलो काँटीलाई मियो मानेर मेरा शरीरका हात, खुट्टा र टाउको त्यसरी नै बेजोड्ले हावामा तैरिदै घुमिरहेका थिए । मलाई कहाली लागिरहेको थियो ।

त्यही बीच म सपना भित्रको अर्को सपनामा प्रवेश गर्न पुग्दछु । मेरो शरीर बेलुन जस्तै हलुका भएको हुन्छ । लाग्याे मेरो शरीर हाड र मासुले होइन हावाले भरिएर बनेको छ । गुरुत्व आकर्षणको बलले मलाई यसरी छोड्न थाल्छ मानौ म मंगलयान भित्र अन्तरिक्षयात्री यता उता उडेझैँ कोठा भित्रै उड्न पुग्दछु । म कोठाको ढोका खोलेर बाहिर बरण्डासम्म निस्केँ । मध्यरात घडकिन लागेको थियाे । तर, अँध्यारो रात बीच कतैबाट मधुरो उज्यालो आइरहेको थियो । मन्दमन्द हावा चलिरहेको थियाे । वरिपरि हेर्छु घरहरु¸ बाटोहरु सबै तालमा आएको शान्त छाल झै मन्द मन्दसँग हल्लिरहेका थिए ।

घरअघिको बाटोसँगै रहेको बेल्लोको रुखको हाँगामा एउटा लाटोकोसेरो देखियाे । उसका दुई आँखाहरु सानो टर्च लाईटको बल्ब झै चम्किरहेका थिए । उसकाे टाउको र पखेटाको आकृति मात्र देखिएको थियाे । लाटोकोसेरो उच्च्च्… उच्च्च् … गर्दै सुसेलिरहेकाे थियाे । अनि केहीबेरमै पखेटा फिजाएर अलि पर रहेको सिमलको रुखतिर उड्याे ।  उड्दै गरेको लाटाकोसेरोको आकृति धमिलो हुँदै सिमलको रुखको कुनै हाँगोमा गएर अँध्यारोसँगै हरायाे ।

त्यतिनै बेला जाेडले हावा चल्याे । हावाको झोक्काले पनि मलाई हल्लायाे । म भने त्यो लाटाकोसेरोलाई अझै हेर्न चाहन्थे । सिमलको रुखको कुन हाँगामा बसेको छ भनि म सिमलको रुख भएतिर खोज्दै हिँडे । अलि रफ्तारमा हिड्दै गर्दा मलाई मेरा खुट्टा जमिनबाट केही माथि हावामा हिडेको जस्तो पाे लाग्याे । म अझै रफ्तारसँग हिड्न थाले । मेरो शरीर पूरै हलुका भएर बिस्तारै उड्न थाल्याे।

मलाई कोही मानव आकृति संभवत् मेरो दाई वा कोही परिचितले घरको बरण्डाबाट हेरिरहनु भएको जस्तो लाग्याे । उहाँ मलाई बोलाईरहनु भएको थियाे तर जाेडले चलिरहेको हावाले म उहाँको आवाज सुन्न सकिरहेको थिइनँ । मेरो शरीर हलुका भएर हावामा तैरिदै उडेकोमा म उत्साहित र अचम्मित थिए । मैले छ, सात कक्षामा विज्ञान विषयको न्यूटनको थर्ड ल अफ मोसनमा पढेको थिए । हरेक कार्यको समान र बराबर प्रतिक्रिया हुन्छ । डुङ्गामा पछाडी पानी खियाएर अघि बढेझैँ म हावामा त्यस्तै दुई तीन तल्लासम्मको उचाईमा घर अगाडि पछाडि बायाँ घुम्दै बिस्तारै मूल सडक हुँदै सिमलको रुख भएतिर हावाको शीतल बहाव महसुस गर्दै उडिरहन्छु ।

…..

अचानक म त्यो सपनाभित्रको सपनाबाट पहिलेकै सपनाको अवस्थामा फर्किए । छातीमा गडेको नदुख्ने ठूलो काँटीलाई मियो मानेर मेरा शरीरका हात, खुट्टा र टाउको हावामा तैरिदै घुमिरहेका थिए । बत्ति गएपछि ५ नम्बरमा घुमिरहेको पंखा बिस्तारै गति कम कम हुँदै रोकिए झैँ हावामा तैरिदै घुमिरहेका मेरा हात, खुट्टा र टाउको बिस्तारै रोकिँदै थिए । 

त्यहीबेला एक्कासी चट्याङ् मिल्किए झै मिलिक्क उज्यालो आयाे । फेरि एउटा छाया मेरो अगाडि देखियाे । त्यो छाया बिस्तारै मतिर फर्किन पाे थाल्याे । म त्यो छाँया भित्रको अनुहारको परिकल्पना गर्न थाले । छायाभित्रकाे परिकल्पित अनुहारले म एकछिन पूरै भयभीत भए । मैले त्याे  छायामा आफ्नै अनुहार पाे पाए । त्यसपछि मेरो मनको सबै डर एकाएक हट्याे । सोचे सायद आत्माले शरीर परिवर्तन गर्दै हिड्छ । कहिलेकाही आत्मा शरीरबाट अलग्गिन खोज्दछ । एउटा सानो मनलाई शरीर भित्रै छोडेर¸ आत्मा केही दूर पर छाया भएर अलग्गिन्छ ।

……

रातको साढे एक बजिसकेछ । बिहान सात बजे परीक्षा सुरु हुनेवाला थियाे । साेचे अनिदोले परीक्षा दिन गार्हो भयो भने के गर्ने ? अनि निदाउने प्रयत्न गर्न थाले । केहिबेर पछि म ऐँठन विहिन शुन्य निन्द्रामा बल्ल आरामले निदाए ।