दशकौँदेखि पवनकली नाम गरेकी हात्ती मानव दासता सहेर बसेकी छन् । व्यवस्था फेरियो, समय बदलियो तर उनको जीवनको नियति कहिल्यै बदलिएन । फलामको साङ्लोमा बाँधिएर, उठ्दा, बस्दा, हिँड्दा हरबखत माउतेको अनुमति पर्खन विवश बनाइएकी पवनकलीले वास्तवमा आफ्नो जीवन जीउन नै पाएकी छैनन् उनी त मानव दासको जीवन जिएर बसेकी छन् ।
उनको शरीर छ तर त्यस भित्रको बल मानिसले आफ्नो स्वार्थका लागि हरण गरेका छन्, आत्मा त छ तर उनको स्वतन्त्र मन र विवेकलाई मारिएको छ । उनको कुनै दैनिकी छैन केवल मानिसको दैनिकीमा उनी चलेकी छन् । पवनकलीको जीवनको हरेक पलबाट स्वतन्त्रता खोसिएको छ ।
पवनकली मानिसको कोलाहलमा एक्लै थुनिएकी छन्, परिवार, साथीभाई सबैबाट धेरै टाढा थुनिएर बसेकी छन् । उनको सारा जीवन मानव दास भएर बितेको छ, लाखौँ आँखाहरुले उनलाई हेरेर मनोरञ्जन लिएका छन्, हजारौ मानिसहरु उनको पिठ्युमा चढेका छन्, उनको श्रम, मेहेनत, शान्त र कान्त स्वभावले करोडौ रकम उठेको छ । त्यही रकमबाट सयौँ कर्मचारीको मासिक तलब पाएका छन्, चिडियाखानाका पर्खालहरु अझ अग्लो र मजबुत बनेका छन् ।
आँशु पिएर भए पनि पवनकली बाहिर मौन बसेकी छन् । जीवनलाई धैर्यताका साथ सहेर बसेकी छन् । यो उनको कमजोरी थिएन । यो त उनको मानव प्रतिको दया, माया र सदाशयता थियो ।
हुन त पवनकली एक हात्ती हुन् तर मानिसहरु उनलाई भगवानको अवतार मान्दछन् । भगवानलाई नै दास बनाएर कैद गरी राख्ने यो कस्तो सभ्यता हो ।
मानिसहरु उनलाई गणेश भगवानको शिर मानेर ढोग्न खोज्छन्, उनलाई छुन खोज्दछन्, उनको नाममा दश, बीस, सय, पचास रुपैँया चढाउँछन् । उनलाई हेर्नको लागि भनेर, उनलाई छुनको लागि भनेर मानिसहरुले यतिका धेरै कागजका नोटहरु खर्चिसकेका छन् तर उनको मुक्तिको लागि दुई चार पानाहरु कोरिन अझै बाँकी छन् ।
पवनकलीले आजकल बोल्न भुलेकी छन् । कहिलेकाही उनको मन भक्कानिन्छ । मन कुडिन्छ । आफ्नै जीवनकथा सम्झेर रुन मन लाग्छ । अनि उनी त्यही चिडियाखानाको अग्लो रुखसँग गएर आफ्ना मनका भाव साट्दछिन् । त्यही रुखसँग माडिन्छिन् । टाउको ठोक्काउछिन् । आफ्ना आँखा र हाउभाउले संवाद गर्दछिन् ।
त्यो अग्लो रुख उनको निकै मिल्ने साथी भएको छ । उनले चिडियाखानामा आएदेखि नै आफ्नो रुख साथीलाई भनेकी थिइन्, “तिमी त अग्ला छौँ, यहाँका पर्खालले तिमीलाई केही पनि छेक्न सक्दैनन् टाढाटाढासम्मका कुराहरु देख्न सक्छौ, कतै वरपरका जङ्गल बस्तीमा मेरा साथीहरु, हात्तीका बथानहरु मलाई खोज्दै आएका त छैनन् ? उनीहरुलाई देख्यौ भने पवनकली चिडियाखानामा कैद भएर बसेकी छन्¸ उसलाई छुटाउन आउँ है भनी बोलाइदेउ न है ।”
विचरा रुख वर्षौ भैसक्यो पवनकलीका हात्ती साथीहरु कतै नजिकका जङ्गलमा आएका छन् कि भनेर हेर्न थालेको । उसले उपत्यका वरपरका जङ्गल देखेको छ । त्यहाँ फाट्टफुट्ट चर्दै गरेका हरिणहरु देखेको छ । आकाशको माथि माथि उड्ने चराहरु देखेको छ । हिउँदमा आउने पाहुना चराका बथानहरु देखेको छ । आकाशमा उड्ने वायुपड्खीहरु देखेको छ । कहिलेकाही बाटो बिराएर शहर पसेका चितुवा देखेको छ तर कति खोज्दा समेत हात्तीका बथानहरु देख्न सकेको छैन । आजकल त सहरभरी कङ्क्रिटका अग्ला गगनचुम्वी भवनहरु बनेका छन् तिनैले छेक्ने हुनाले पहिले जस्तो धेरै कुरा देख्न सकिदैन । अर्कातर्फ काठमाडौं उपत्कामा बढेको धुलो धुँवाले झनै पर परका कुरा देख्न हेर्न मुस्किल बनाएको छ ।
पवनकलीको सारा युवा अवस्था यही चिडियाखानामा दिन रात काम गर्दा गर्दै बित्यो । उमेर ढल्केर उनी पनि बुढेसकालमा पुगेकी छन् । ७१ वर्षको जीवनको उत्तराद्र्धमा पुगिसक्दा समेत उनको दैनिकी अझै उस्तै छ ।
दशकौँ बितिसक्यो तर पनि उनलाई आफ्ना साथीभाईसँग भेट्ने रहर छ, समथर फाँटका चारकोसे जङ्गलमा डुल्दै हिड्दै हराउने इच्छा छ । सानो चञ्चल हात्ती झैँ मैदानबीच रहेको हिलो पोखरीमा गएर शरीरभरी हिलै हिलो लेपेर आहालमा मस्त दिनभरी निदाउने चाहना छ, अनि बेलुकीको सन्ध्यासँगै बगिरहेको नदीको चिसो पानीमा गएर डुबुल्की मार्दै नुहाउने र दिनभरीको सबै गर्मी र मैलो पखाल्ने चाहना छ ।
अनि रातको अन्धकारसँगै सानो डाँडाको माथि उक्लिएर जुनकिरीहरु हेर्ने, त्यो निलो अध्यारो आकाश र त्यो आकाशमा चम्किरहेका नौलाख तारा हेर्ने रहर छ, ती तारासँगै आफू बाल्यकालमा छदै मरेकी उनकी आमा कुन तारा बनिन खोज्ने रहर छ । उनको दाइ धुव्रे हात्ती आकाशमा के गर्दैछन् । धुम्रकेतु बनेर कता दौड्दैछन् ? त्यो सबै हेर्ने रहर छ । जङ्गलमा लुक्दै शिकार खेल्न लागेको बाघलाई पछाडिबाट गएर तर्साउने, सधै एक्लै बस्ने गैँडालाई उसको हालखबर सोध्ने, हरिण र मृगका बथानहरु सँगै घाँसे मैदानमा चर्ने अनि आफ्नै हात्तीका बथानसँग जङ्गल, घाँसे मैदान भित्रका लामा लामा यात्राहरु तय गर्ने, नारायणी नदी तरी पारी परसम्म पुग्ने रहर छ ।
बुढेसकालले होला पवनकलीका आँखा कमजोर भएका छन्, छाला खुम्चिसकेका छन्, आँट भरोसा र सपना ढलिसकेका छन् । तर मुक्तिको आशाको त्यान्द्रोमा अल्झेको जीवन अझै चलिरहेको छ ।