भक्तपुरमा प्रेमी प्रेमिकाले गरे सँगै झुण्डिएर आत्महत्या

भक्तपुर, १४ असार । भक्तपुरको बोडेमा प्रेमी र प्रेमिकाले सँगै आत्महत्या गरेका छन् । बोडेमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ र रामेछापको बेथान घर भइ बोडेमै बस्दै आएकी १८ वर्षकी मंगली घिसिङले मंगलबार कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त थिमीका अनुसार जीवन विवाहित पुरुष हुन् ।

उनकी २ वर्षकी छोरी र श्रीमती छन् । घरमा श्रीमती र छोरी हुँदाहुँदै मंगलीसँग प्रेम सम्बन्ध भएको थाहा पाएपछि श्रीमती रितु तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् । रितुको उजुरीकै आधारमा श्रीमान श्रीमतीबीच केही दिनअघि मात्रै मिलापत्र गरिएको थियो । पछिल्लो समय जीवन आफ्नी श्रीमती र छोरीसँग बस्न छाडेपछि प्रहरीमा आगामी दिनमा मिलेर बस्ने सहमति उनीहरुले गरेका थिए ।

पेशाले सवारी चालक रहेका जीवन सोमबार साँझ एकैछिनमा आउँछु भन्दै घरबाट निस्किएको पाइएको प्रहरीले जनाएको छ । तर मंगलबार बिहान मंगलीकै कोठामा दुवै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको र अनुसन्धान जारी रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Loading...