चिप्लेढुङ्गा, ८ साउन । सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको हरितालिका तीज पर्व सुसभ्य तरिकाले मनाउने वातावरणका लागि नारी जागरण अभियान कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
तीज आउनु महीना दिन अगाडिदेखिनै सामाजिकरूपमा देखिने भड्किलो गतिविधिले तीजको मौलिकता हराउँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारी चत्रबहादुर बुढासमक्ष ज्ञापनपत्र बुझाएको अभियानका संयोजक अञ्जु केसीेले जानकारी दिईन ।
“तीज पर्व पछिल्ला वर्षहरुमा एउटा भड्किलो पर्वको रूपमा स्थापित हुँदै गएको छ । यस पर्वले बोकेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरु विस्तारै गुम्दै गएका छन्”, केसीले भनिन, “दरखाने र जमघट हुने नाममा तीज आउनु महीनौँअघिदेखि तडकभडक महँगा गरगहना, कपडासहित पार्टीप्यालेसदेखि तारे होटलसम्म हुने भड्किलो प्रदर्शनले यस पर्वको मौलिकतामाथि प्रश्न उठाएको छ । धार्मिक मूल्य, मान्यता एवं सांस्कृतिक पक्षको संरक्षण गर्नु हामीसँगै जिम्मेवार निकायको पनि हो, त्यसैले प्रजिअसमक्ष ज्ञापनपत्र बुझाएको हौँ” ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले सामाजिक विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न प्रशासन सधैँ तयार रहेको बताए । तीजको मौलिक परम्परालाई जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रममार्फत तीजको मौलिक पहिचानको संरक्षणमा जोड दिने बताए ।
महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको नारी जागरण अभियानले तीज पर्वको मौलिकता संरक्षण र महिला अधिकारको विषयमा विभिन्न कार्यक्रम गर्ने संयोजक केसीले जानकारी दिईन। यस वर्ष भदौ १५ गते दरखाने र १६ गते हरितालिका तीज पर्व परेको छ ।