पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे । “एक दुई वटा औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौँ”, उनले भने, “हाम्रो लक्ष्य यही साउन महीनाभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुङ्ग्याउने छौँ, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्ने छौँ ।” उनले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताए।

उनले अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढङ्गले पूरा गरेको धारणा राखे । उनले पुष्पलाल नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्दछ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत एउटा झण्डा उठाएको समेत बताए । नेता दाहालले पुष्पलालको मानसिक सन्तति आफूहरु भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपनानुसार पूरा गरिने दृढता व्यक्त गरे ।

“विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने, दीर्घकालीन सशस्त्र सङ्घर्षमार्फत जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो”, उनले भने, “त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हाँै ।”

उनले पुष्पलालले देखेको समाजवाद तथा समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्नका लागि पार्टीलाई विचार र राजनीतिका आधारमा, साङ्गठनिक मूल्यमान्यताका आधारमा, विधि र प्रक्रियाको आधारमा जनतासँगको सम्बन्धको आधारमा सुदृढ गर्दै जानुपर्ने धारणा राखे ।

“हामी पहिलो पार्टी भएपछि सबै चिज ठीकठाक हुन्छ भन्ने जे विश्वास थियो त्यसमा उठेका यदाकदाका प्रश्नको जवाफ हामीले एकता प्रक्रिया टुङ्ग्याएर, पार्टीलाई सक्रिय बनाएर, जनतालाई परिचालन गरेर गर्नुपर्दछ”, उनले भने ।

उनले आफूभित्र देखापरेका कमजोरीलाई सच्चाएर सङ्कल्प गर्नु नै पुष्पलाललाई सम्झनुको अर्को बाटो रहेको बताउँदै भने, “ अबको बाटो हामीभित्र देखिएको कमीकमजोरी सच्याउने पनि हो । आफैँलाई धोइपखाली सफा गर्ने कुरा पनि हो । त्यस अर्थमा यो दिवसको औचित्य हुन्छ”, उनले भने ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताए । उनले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह पार्टीको मार्ग निर्देशनअनुसार चल्नुपर्ने तथा पार्टीमा राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहनसमेत गर्नुपर्ने बताए । उहाँले छिट्टै पोलिटब्यूरो गठन तथा विभागीय र जनवर्गाीय सङ्गठनको जिम्मेवारी बाँडफाँट गरिने बताए ।

भँगेरीमा सङ्ग्रहालय र उद्यान

वरिष्ठ नेता नेपालले अहिले मुलुकमा झण्डै दुई तिहाइको कम्युनिष्टको सरकार भएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । “अहिले सरकार सञ्चालनको अभूतपूर्व अवसर छ । यो अवसरलाई खेर जान दिनुहुँदैन”, उनले भने, “खेर जान दियो भने फेरि अवसर जनताले दिन्छ कि दिँदैनन् ।” उनले पुष्पलाल जन्मेको ठाउँ रामेछापको भँगेरीमा पुष्पलाल सङ्ग्रहालय र उद्यान स्थापना गरिनेसमेत जानकारी दिए ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटामा हिँडेमात्र मुलुक समृद्धि हुने बताउँदै समाजवादको बताए ।

सो अवसरमा कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायत नेताले फूलगुच्छासहित माल्यार्पण गरेका थिए ।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल को निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ उनले साथीहरुको सहयोगमा विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए । उनले कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए ।

Loading...