सडक विभागको कारण भक्तपुरमा खोलाले किसानको बाली नष्ट पार्यो : मेयर प्रजापति

भक्तपुर, २८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाघारी र राधेराधे पुलमुनि खोलाको सतहभन्दामाथि ढलान गरेको कारण वर्षामा खोलाको पानी बाहिर आएको बताएका छन् । थोरै पानी पर्दा पनि हनुमन्ते खोलाको पानी खेत खेतमा पसी बालीमा क्षति भएको बताउदै प्रमुख प्रजापतिले तत्काल ढलान हटाइ पानीको बहाव स्वाभाविक गतिमा बग्न दिनुपर्नेतर्फ प्रजिअ र सडक विभाग प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

शनिबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको विपद व्यवस्थापन समितिको बैठकमा भक्तपुर नगरपालिका प्रमुख प्रजापतिले भने, ”भक्तपुर नगरपालिका र सडक विभागका प्राविधिकहरूको संयुक्त टोली गठन गरेको महिनौं बितिसक्दा पनि प्रतिवेदन पेश नगर्नाले सुधार हुन सकेन । विभिन्न बहाना गरी सडक विभागका प्राविधिकहरू आनाकानी गर्दैछन् । खेतहरूमा लगाइराखेको बाली नोक्सान हुनु त्यसैको परिणाम हो ।”

नगर प्रमुख प्रजापतिले सडक विभागप्रति आक्रोस पोखेपछि हनुमन्ते खोलाको सल्लाघारी र राधेराधे स्थित पुलको मुनि ढलान गरेको हटाउन पहल गर्ने निर्णय भएको बताइएको छ ।

उक्त बैठकमा प्रमुख प्रजापतिले वडा नं. १ स्थित भाज्यापोखरीमा पर्खाल भत्केका, भनपा वडा नं. ८ मा एउटा घर भत्केको, भनपा ३ बाराहीस्थानमा विपद व्यवस्थापनमा नगर समितिद्वारा सञ्चालित टीमले फोहर पन्छाउने र खोला खुलाउने कार्य गरेको, राममन्दिर, सल्लाघारीलगायतका विभिन्न ठाउँमा बाढीले धान बालीमा क्षति पु¥याएको लगायत विवरण प्रस्तुत गरेका थिए ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरीको तर्फबाट एस.पी. सबिन प्रधानले यस क्रममा हनुमन्तेको बाढीले बालकोटमा बगाएको १ जना युवाको उद्धार गरेको, नगरकोटमा एउटा घरमा हावाहुरीले छाना उडाएको, पाण्डुबजारमा एउटा घर बाढीले बगाउन लागेकोलाई सुरक्षित गरेको रिपोर्ट पेश गरे ।

नेपाली सेनाका कर्णेल शिव पौडेलले धनजनको क्षति हुनबाट रोक्ने सबैको साझा उद्देश्य भएको बताउँदै सरोकारवाला सबै निकायबीच समन्वयको आवश्यकता भएको औंल्याएका थिए ।

नेपाल रेडक्रस शाखा भक्तपुरका प्रमुख मनोज थापाले चाँगु, झौखेल, चित्तपोल, सुडाल, छालिङलगायतका ठाउँहरूमा १०/१० वटा त्रिपाल वितरण गरेको र हाल २२ सय परिवारलाई पुग्ने राहत सामग्री उपलब्ध रहेको जानकारी दिए ।

Loading...