म सगरमाथाको चुचुरोबाट मरकस बाबालाई फेरि नालिस ठोक्दैछु । मेरो यो दोस्रो फराद पत्र हो । यसलाई उच्च अदालत सामु अपिल भनेर बुझियोस् । पहिलो, नालिस नेपालमा जनयुद्ध चल्दै गर्दाको थियो । दोस्रो, अहिले घनघोर मनोयुद्ध चल्दै गर्दाको हो । नालिस दिनको कारण मरकस–पिसाच लागेपछि दुनियाँमा भाँडभैलो मच्चियो भनेर हो । अझ झन बिग्रदै जाँदैछ । समाज खजबजियो । संस्कार भाँडियो । राजा वेगरको देश कहीं हुन्छ र ? हजुर । हिजो कजाईएकाहरू अहिले काजी बन्दैछन् ।
मुन्छेले दिँउसै सपना देख्न थालेर बौलाउँदै गयो । कसैलाई कसैले नि नगन्ने, नटेर्ने भयो । कसैलाई नपुच्छ्ने भयो । न मालिकको डर, न धर्मकर्म न यहलोक, न परलोककै… डर । कलियुगले ढपक्क ढाक्यो । पशुपतिनाथले पनि रक्षा गर्नै सकेनन् । कस्तो वेथिती… चमारे जागे । मधिसे कुर्ले । जुमली हुम्ली मान्ठाहरु चिच्याउन थाले । रूद्रघण्टी नहुने फरियिनी पो हुक्काँ गर्छन्… हो । आइमाईहरू मलामी जान थाले, किरिया बस्न थाले, जन्ती जान थाले, हलो जोत्न थाले, घरधुरी छाउन थाले, मार हान्न थाले । समाज भाँडनेहरू अनेकौ रूपधारी छन् । कतै राक्षस र दानव, कतै शैतान, कतै काफिर बनेर घुमिरहेका छन् । संसारको कुनै कुनाकाप्चा नै छोडेन् । भगवान, ईश्वर र अल्लाहालाई सिधै चुनौती दिने विधर्मी कस्ता हुँदा रहेछन् ? मैले खुटयाइसके । यो रोग हो, मरकस–पिसाचको । दुनियाँ बचाउन र पिसाचलाई सदाको लागि मन्सिनु प¥यो या सखाप पो पार्नुप¥यो… हजुर । त्यसैले मरकस बाबा उपर मुद्दा दर्ता होस् ।
मरकस–पिसाच लागेपछि मान्छेको जात पहिला बौलाउँदो रहेछ । आफ्नै लागि, सन्तानका लागि पनि नसोच्ने दिलहीन बैगुनी बन्दो रहेछ । रोगले सताउँदै गएपछि मुन्छेमा धर्मकर्म भन्ने चिजै हराउँदो रहेछ । समाज भाँडिँदै जाँदा कहाँ के, के न हुँने हो… उत्पातै हुन थाल्यो । त्यसैले लोक कल्याणका लागि यो दोस्रो फिरादपत्र लिएर म हाजिर भएको हुँ । यो छुतको रोग मेरो देशलाई मात्र नसोचियोस्, संसारभरिकै नै लागिसक्यो । शान्ति र अमनचैनको दुश्मन, सभ्यताको शत्रुले संसारभरि नै समस्या पारेको छ । त्यसैले मरकस–पिसाचलाई कारवाही गरी सभ्य बन्न चाहनेलाई न्याय मिलोस् ।
यो पिसाच फैलाउने अरू कोही हुँदै हैन । जन्मको नाम कार्ल हेनरिक माक्र्स भई बेलायत लण्डनमा इहलिला सक्दै हाईगेटमा चिहान भएको सोचको अन्तर्राष्ट्रिय अपराधी मरकस बाबालाई सगरमाथाको देशबाट उजुरी भनेको हेग अदालतमा उभ्याउने यो किटानी जाहेरी हो । पुर्खा यहुदी भए पनि १८२४ देखि उसका बाउ–आमा ईसाई भएका, जर्मनीको (त्रेवेस, प्रशा) राइन नदीका किनारमा (५ मई १८१८–१४ र्माच १८८३)जन्मेर प्रौढतामा तालु खुइलिएको, धेरैजसो बेलायती पुस्तकालयमा भेटिने पडन्ता, लेखन्ता, सधैँ झम्म दाह्री पाल्दै युरोपका गल्ली–गल्ली भौतारिँदै हिड्ने उसको हुलिया हो ।
मरकस बाबाको काँचो पिसाच भने अहिले दुनियाँभरी नै भडकिरहेको छ । धेरै पढेलेखेर बैलाएको र बैलाहाबुटी तयार गरेर पिसाच फैलाउने ऊ अपराधी नै थियो र हो । उसका बाउआमा इसाई र पुर्खा यहुदी भए पनि ऊ भने अधर्मी भएर विज्ञानवादी कहिन पो थाल्यो । धर्मलाई अफिम भन्दा कडा भन्ने कस्तो माहामुर्ख होला ! कस्तो मापाको ? संसारका सबै प्रश्नको उत्तर पो विज्ञानमै छ अरे । संसारकै श्रमजीवी एक हौँ भनेर उसको चिहानमै लेखिएको छ । साँच्चै सोच्ने तरिकैमा मरकस बाबाले हस्तक्षेप गरिदियो । त्यसलाई कसले पो सहन्थ्यो र ! मरकस बाबाको सभ्यहरुको देशमा पिचास फैलाउनेको शालिक नि किन सहन्थे ? वेलावेलामा बिरोध त भइरहन्छ ।
सन १९७० मा त बमै प्रहार पो भयो । १९८१ मा नष्ट गर्ने प्रयत्नै भयो । सभ्य मान्छेहरुको सोच पनि यो पिसाच लागेपछि कसरी फेरिदिन्छ ? म आफैँलाई यो छुत रोग लागेको बेलाको हविगत गम्छु । यो रोगी काफिरले, सैतानले, पापीले धर्मकर्म नै पोली खान्छ भने अरु के पो बाँकी राख्छ र ? म आफैँ बौलाएर चेत खुल्न थालेको मनुवा भएकाले यी सबै कुरा देखेको, भोगेको, जानेको, बुझेकोले फिराद गर्न सक्ने औकात भएको हुँ । हाम्रै देशमा एउटा कथन थियो, हजुर… २५ वर्षसम्म मरकसलाई गुरू नभन्ने मानवनै हैनन् २५ वर्षपछि मरकस रोग उपचार नगर्ने भनेको महामूर्खै नै हुन् ।’ मरकस–पिसाच अझै दुनियाका मजदुर एक हौ भन्छ । उसको विरुद्ध हामीसँग को र के छैन ? पुँजी र प्रविधि छ । धनपति, कर्पोरेटपति, हतियारपति, युद्धपति, प्रोपगन्डापति सबै हामीसँगै छन् । संसारकै थैलीशाह, बादशाह, पण्डितजी, मुल्लाहाजी, पादरी र लामाहरु एकगठ पार्न सक्छौ र हुन सक्छौ । मरकस–पिसाच लागेका भुतपूर्व कमनिस पनि साथै हुनेछन्… मजस्तै । मरकसविरुद्ध संसार एक हौँ, एक हौँ ।
मरकसले यस दुनियाँमा गर्नु÷नगर्नु गर्यो । आजको जस्तो सूचना प्रविधि भएको भए अझ के, के उधुम मचाउथ्यो कोन्नि ! ऊ मरेर पनि उसका अपराधले भने राष्ट्रिय सीमा छिचलेर विश्व ब्रम्हाण्डमै छुत फैलाइरहेका छन् । हेर्नुस् त… कस्तो अपराधी ! जीवन र जगतलाई विज्ञानको आँखीझ्यालबाट नियाल्नु पर्छ रे… उज्यालो चाहनेले आफै जल्न तयार हुनुपर्छ रे । कस्तो बकम्फुसे कुरा ! मेरो देश र मैरै कथा सुनाउँछु । मलाई कुनै दिन त्यही पिसाच लागेको थियो भनेर नसोचियोस् । यो पिसाचले कुनै जाति, क्षेत्र, भेष र भाषा अछुतो राखेन । उसकै बुटीखाँदा आज न त घरको न त घाटको भइयो । जसले यो नशा त्यागे ती नयाँ बनेर यहलोक र परलोक सपारे, सुधारे । मन्त्र त्याग्नेमा पुष्पलाल र विपीका सगोत्री पहिलो पंग्तीमा परे । बुधना र उसका कयौँ कमरेड नसाले अझै त्यो पाप उतार्नै सकेन । त्यो अपराध कुुकर्म पछाडि मरकस बाबाकै हात छ ।
मुद्दा चलाउनुका कारण र प्रमाण यथेष्ट छन् । अन्तराष्ट्रिय अदालतमा मुद्दा लाग्ने ठूलो प्रमाण भनेकै सबै प्रकारका सत्ता हल्लाउँदै, भत्काउँदै सिधासादा मान्छेका मन र मस्तिकलाई सभ्य समाज विरूद्ध भडकाउँदै नयाँ सोच्न ललकार्नु नै हो । नयाँ सोचले निर्धा दरविलो हुँदो रहेछन् । पाजीहरु काजी बन्न खोज्ने । भूईमान्छेहरु जुरुक्क उठेर सबैखाले प्रभुका सिंहासन भत्काइदिँदा रहेछन् । भूइमान्छे र सोच्ने भनाउँदा मान्छेहरु बौलाएपछि त संसारमै के, के भयो… के, के । डेढसय वर्षको इतिहास साक्षी छ । आस्तिक र नास्तिकका अर्थ फेरिए, धर्मात्मा र पापीहरुका मर्म फेरियो । राजक र अराजकका सीमा टुटे । वाइवल, तौरिद, कुरान, वेद र त्रिपिटकका देववाणीमा अनास्था फैलाउँदै, धार्मिक आस्थावान र विश्वासी मान्छेलाई नास्तिक बनाउँदै गयो । चर्च, मस्जिद, मन्दिर, सेनेगाल र मठमाथी भ्रम पैदा गरेर पादरी, पण्डित, मौलाना, लामा र भिक्षुप्रति अनादर फैलाउने अपराध गर्दै गयो । कस्तो इर्साईपुत्र हो यो… आफ्नै महापोपप्रति पनि घृणा फैलाउने !
धर्मग्रन्थको खिल्ली उडाउँदै यस्तो प्रहार ग¥यो कि एकै पटक सबै धर्म सङ्कटमा पर्न गए । तर्क पनि कस्तो धारिलो दिने ! मुन्छे बौलाहा नै बनाउने । संसारकै सुखीहरुका चैन छिन्दै, राजा–महाराजा सभ्रान्त, कुलीन, धनाढ्यका दिउसोका चैन र रातिका निन्द्रा हराम गराउदै गद्दी उल्टाइदिदैँ गयो । सनातनी राजधर्म विप्लव गराउँदै सोझा, सिधा र कर्महरा कामदारलाई भाग्यका अर्थ र पुर्पुरोमा लेखिएको कर्मलाई चुनौती दिँदै गयो । खप्परेका भाग्यमानी खप्पर फोर्दै काले, गोरे, खैरे, भैरे, नाक चुच्चे, थेप्चे सातै समुन्द्र वारी–पारीका भुईमान्छेलाई आफ्नै मालिक र अन्नदाता विरुद्ध उचाल्दै गयो । स्व–इच्छााले आत्माघाती ओखती खुवाँउदै गयो । जाति र धर्मभन्दा पनि वर्गीय माया चोखो, न्यानो र दरविलो हुन्छ भन्ने फाल्तु कुरा सिकाउदै धनी र गरिव कसरी हुन्छन् भन्ने इख्याउँदै गयो । कर्मा लेखेको कुरालाई हाकाहाकी चुनौती दिने ऊ के महाभगवान हो ? यो के गरेको हे… पापीभन्दा त आँखा तरेर हाकाहाकी पो भन्छ– समानता र मानवताका सपना बाँडेको रे’ । सबैले पूर्वजुनीको कमाई खानुपर्छ नि । के समाज कुच्चाको मुख काट्याझैँ हुन्छ ! कस्तो ढिट् छ बाबै… । उपदेशक नभई कर्ता बनेर हिड्नुपर्छ रे… । मुक्तिको लडाई अरु कसैले लड्दैन् आफैले लडनुपर्छ रे भनेर कम्युनिस्टमन्त्रको बुटी बाँधिदिएर पागल पो बनाउँदै छ, संसारलाई ।
मालिकहरु, धर्माधिकारी ज्यू, ख्वामित–महाराज, अन्नदाता सबै प्रभू ज्यूू, कर्पोरेटपति ज्यू म पनि लहैलहैमा लागेर मति बिगार्दै पुर्पुरो चर्काएर कुनैदिन आँखा तर्ने मान्छे बनेँ । अहिले पनि सपनीमा त्यो पिचास आउँछ, त्यसले झ्याप्प समात्छ । हिजोका वाचाबन्धन या त गल्ती थियो भन्, नत्र भने नयाँ जीवन किन लर्ताछस् भनेर हकार्छ । सपनादेखि भाग्न पनि सक्दिन । ऊ ऐना सामने घिच्याउँदै लान्छ, ओझलिन पनि सक्दिन । आफ्नै अनुहारले आतङ्कित बनाउँछ । एकान्त त झन आतङ्क नै बन्छ, हजुर । सँगै हिडेका र चिहानमा गाडिएका सम्झाउँदै चिहान खोतल्छ । म चिहानमा गाडिएकाको चित्कार सुन्नै नसक्ने भाछु । झस्कन्छु । तर, मरकस भूतले क¥याप्प समात्छ ।
इतिहासका किताब बिच्छु बन्छन् । चिहाने तिख्खर स्वरले ललकार्छन्, गिज्याउँछन् । हो प्रभू केशर र बुधनामात्रै हैन, मलाई र मजस्तालाई पनि सपनाबाट जोगाउने एउटै उपाय छ मरकसका भूत यो संसारैबाट हटाइयोस् । माफ गर्नुस् हजुर । उसैले नै हो… हामीलाई सपना देखाएको नाङ्गो कुरा भन्नुपर्दा सखाप पारेको, बिगारेको । म एउटा निर्धाे गरिवा छोरोले नत्र कसरी प्रभूसँग हाकाहाकी नजर लडाउन सक्थे र ! त्यो बौलाएरै थियो, त्यही महाछुत रोगबाट । अब त माफ माग्छु हजुर । लेखेका चिच्याएका, आँखा तरेका, जुलुस लगाएका, बन्दुक पड्काएका, सभ्य समाजलाई हेपेका कुरा अब फच्चे भनिदिनुस् । के गरौँ लोर्के उमेरको थिएँ । ओठमाथि भरखर रौ आउन थालेका पठ्ठो बेला थियो । तब बौलाएर घरवार छोडी र भौतारिन थाले । त्यसै बौलाएका कहाँ हो र ! सोच्न भर्खर आँखा खुलेका थिए, मरकस बुटी खाएर पछुवा बनिसकेर बौलाइसकेपछि जे हुनुथ्यो, भयो । तब त बुढेसकालका बाउआमाका सहारा हुने गरिवपुत्र गाउँबाट एक्कासी अल्पियो, ख्वामित । मलाई बौलाहा बनाउने त्यही दडियल मरकस बाबा नै हो ।
मेरै देशको कुरा गराँै । कति सुन्दर, कति शान्त थियो । हिउँजस्तै चिसो थियो । भूँईमान्छेहरू खुरुखुरु हिड्थे, लुरुलुरु मान्थे । एकदम सन्तोषी । कहिल्यै प्रभूको अहित चिताएनन् । अग्रेजले भन्थे नि… नुनका सोझो गर्ने जाति । जब मरकस बाबाले नेपाली शासक जंगबहादुर राणालाई अग्रेजका पाल्तु कुत्ता भनेदेखि काँचो पिसाच हाम्रो देशमा काँचोवायु बनेर पस्यो । सिधासाधा आछामी गाउँले बलदेव शाही बाँकावीरले जंगेलाई ललकारे, तिलगांका तरवारी धारमा परे । साहेवबहादुरलाई सहयोग गर्न जंगबहादुरसँगै अवध पुगेका सिपाही लखन थापा विद्रोही बनेर फर्के । कस्तो बुटी हो… मरकस बाबाको । पढ्न कलकत्ता गएका डोला दशरथ चन्द, नारद व्यास र कस्मिरी खानसँग भेट्न नागपुर पुगेछन् । तब के चाहिन्थ्यो… उनलाई मरकस–पिसाच लागेछ । मर्न देश आए । आफूमात्रै कहाँ हो र ! दौतरीलाई पनि निम्त्याए । तिनकै सालिकमाथि ठडिए, हाम्रा महाराज महासहिद बनेर ।
मरकस–पिसाच लागेर बौलाएका धेरै मुन्छे छन् । कतिका परिवार बिगा¥यो ! कामी बुढा, भिमदत्त पन्त, कोइली थरुनी, गुम्रा थारु, दुर्गा नन्द झा, शमशेरबहादुर विष्ट, मायाराम रेग्मी, दशरथ चेपाङ, सुर्य तामाङ, रामनाथ दाहाल, कृष्ण कुईकेल, बिरेन राजवंशी, रत्न वान्तवा, बैजनाथ गुप्ता, दिलबहादुर रम्तेल, सुरेश वाग्ले, नरेश खटिक, दयानीधी वर्मा कतिका नाम लिउँ ! यी सबै त्यही पिसाच लागेर बौलाउदै इहलिला सकेका मुुन्छे । पहाडी थिए, मधेशी थिए, थारु, चेपाङ, गुरुङ र राईलिम्बु । हिमाल–तराई, पूर्व–पश्चिम, महिला–पुरुष सबै भूँईमान्छेहरुले आफ्नो लागि घारो र कात्रो स्वयम्ले बोकेर मर्नै लस्कर लागे । मर्न लस्करै लागेकालाई आफ्नै आँखाले देखेको हुँ । यस्तो समय आयो कि मर्न नेपालीहरु मरकस बुटी खाएरै बौलाए…. हजुर । त्यसका काँचोवायु नउतारे नेपालका मात्रै हैन् संसारकै सभ्य मान्छेहरुले आउँदो समयमा पनि चैन पाउँदैनन् र बौलाउने छन् । कष्ट भोग्नु पर्नेछ । इस निन्दा सुरू हुन्छ । प्रभूका जयगान हैन्, आँखा तर्नेछन् ।
बौलाएका मान्छेले के के गरेनन् र ? मरकस–पिचासको बल अचम्मै हुँदो रहेछ् । त्यो छुतको रोग उतारे संसारमा म जस्तै मेरा केशर र बुधना पनि सद्दे मान्छेमा फेरिन्थे कि ! त्यसैले उनको लण्डन हाईगेटको चिहानमा गाडिएको लास उधिनेर हेग अदालतमा उभ्याउँदै न्याय गरिए पिसाच जरुर उत्रिने छ । प्रभू ….जनि गरियोस् । मरकस–पिचासलाई न्यायका कठघरामा नउभ्याउने हो भने अरु कतिलाई त्यो विचारले डस्ने छ हजुर । यो प्रेतात्माले फेरि कसैलाई सपना नदेखाओस्, नडसोस् र हरेक प्रकारका प्रभूलाई आइन्दा चुनौती दिने हिम्मत फेरि कहिल्यै कसैले पनि नगरोस् ।