अविरल वर्षाले काठमाडौँका बस्तीमा बागमती नदी पस्ने खतरा, सतर्क रहन आग्रह

काठमाडौँ, २७ असार । अविरल वर्षाका कारण बागमती नदीकाे बहाव खतराकाे तहभन्दा माथि पुगेकाे छ । बागमतीमा पानीकाे सतह खतराकाे तहभन्दा माथि पुगेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च साबधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पनि बागमती नदी आसपास क्षेत्रका बासिन्दाले साबधानी अपनाउन आवश्यक रहेको बताए ।

पानी पर्न नरोकिए काठमाडौँमा पनि बागमतीको पानी बस्तीमा पस्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिएको उनले बताए ।

प्रदेश १, २ र ३ का चुरेबाट बग्ने प्राय सबै नदीमा पानीको बहाव खतराको बिन्दुमा पुगेको पराजुलीले बताए । कोशी र कन्काई नदीमा पनि पानीले खतराको तह पार गर्ने क्रममा रहेको उनले बताए ।

Loading...