संघीयता अनुभूति हुनेगरी काम गर्न बागमती प्रदेशका कर्मचारीलाई निर्देशन

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संघीयता अनुभूति हुनेगरी सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन ।

कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले प्रदेश गौरवको आयोजना कार्यान्वयनमा कर्मचारीतन्त्रले तदारुकता नदेखाएको गुनासो समेत गरेका छन । एकात्मक ब्यवस्थामा जागिर खाएका केही उच्च पदस्थ कर्मचारीले अझै पनि संघीयताको मर्म अनुरूप प्रशासनिक नेतृत्व गर्न नसक्दा प्रदेश सरकारले अपेक्षा गरे अनुरूप काम गर्न नसकेको उनको भनाइ छ ।

साना टुक्रे योजनाले प्रदेशको दीर्घकालीन लक्षमा बाधा पुगेको बताउँदै उनले कर्मचारीहरु साना योजनामै रमाउने र ठूला योजना अलपत्र पर्ने गरेका आरोप लगाए । उनले जनतासंग जोडिएर जनपक्षीय योजनाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिँदै प्रदेश सरकारको प्रतिनिधित्व गर्ने कर्मचारीहरुले सेवाग्राहीको सन्तुष्टि लाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्नुपर्ने बताए । संघीयता बलियो भए मात्र पेशागत हक अधिकार सुनिश्चित हुने प्रष्ट पार्दै मुख्यमन्त्री जमरकट्टेलले ट्रेड यूनियन अधिकारको रक्षा एवं प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन ।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सरल सहयात्री पौडेलले जनताको हित हुन्छ भने कर्मचारीले जोखिम मोलेर भएपनि काम गर्नुपर्ने सुझाव दिएका छन । जागिरे मानसिकता त्यागेर कर्मचारीले आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गरी सार्वजनिक सेवालाई प्रभावकारी पार्नुपर्ने उनको भनाइ छ । नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य पौडेलले आफ्नो पार्टी र कर्मचारी संगठनको अन्तरसम्बन्ध सुदृढ़ गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन । प्रत्येक जिल्ला र स्थानीय पार्टीलाई राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध कर्मचारीको ज्ञान, सीप र क्षमता प्रयोग गर्न निर्देशन दिने समेत उनले बताएका छन ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डीपी ढकालले अर्थ राजनीतिका बारेमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । अर्थ राजनीतिका विश्लेषक ढकालले ‘मार्क्सवादी अर्थशास्त्र. आजको विश्व र समाजवादी अर्थब्यवस्था’बारे सहभागीहरुलाई प्रशिक्षित गर्दै त्यसका लागि कर्मचारीको भूमिकामाथि प्रकाश पारेका थिए ।

त्यसैगरी पूर्व सचिव डा दामोदर रेग्मीले ‘परिवर्तित सन्दर्भमा सार्वजनिक सेवा प्रवाहका लागि सुशासन र सम्बृद्धिका लागि कर्मचारी ट्रेड युनियनको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै जनयुद्ध र जनआंदोलनको जगमा उभिएको संघीयतालाई मजबुद बनाउन कर्मचारीहरुले अपनत्व लिनुपर्नेमा जोड़ दिए । कर्मचारीहरुले बिचारमा तठस्थ र नीतिमा प्रतिवद्ध रही सरकारको निर्देशन पालना गर्नुपर्नेमा उनको जोड रहेको छ ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समिति र प्रदेश भित्रका १३ जिल्लाका पदाधिकारी सहित करिब १ सयको संख्यामा कर्मचारीहरु प्रशिक्षित भएका प्रदेश अध्यक्ष श्रवण ढुङ्गानाले जनाएको छन । उक्त अवसरमा संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट, पूर्व अध्यक्ष हरि रावल लगायतको समेत आतिथ्यता रहेको थियो ।

Loading...