एकताको १४ महिनापछि नेकपामा कार्यदिशाको बिबाद सल्टियो, ‘जनताको जनवाद’ मै सहमति

प्रतिवेदन आज छाप्न पठाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा राजनीतिक प्रतिवेदनमा देखिएको विवाद अन्त्य भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको १४ महिनापछि कार्यदिशाको बिबाद सल्टिएको हो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै राजनीतिक प्रतिवदेन सम्बन्धि समस्या समाधान भएको हो ।

विवाद अन्त्य भएसँगै प्रतिवेदन प्रकाशन हुने भएको छ । उक्त प्रतिवदेनलाई सोमबार छाप्न पठाइने नेकपाले जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ छलफलमा राजनीतिक प्रतिवेदनबारे सहमति जुटेको हो ।

राजनीतिक प्रतिवेदन पार्टीको सचिवालय र स्थायी कमिटीले पारित गरे पनि कार्यदिशाका विषयमा मतभेद कायमै थियो । पार्टी एकतालगत्तै नेकपाले वरिष्ठ नेता माधव नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार गरेको थियो । नेपाल नेतृत्वको टोलीले सबै सहमति गरेर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै नेकपाको कार्यदिशा हुने आशय एमाले पक्षधर नेताहरुले प्रस्तुत गरेपछि तत्कालिन माओवादी पक्षधर नेताहरु सशंकित बनेका थिए । जसका कारण नेकपामा पछिल्ला केही हप्तादेखि सैद्धान्तिक बहस चलेको थियो ।

अब दुई अध्यक्ष ओली र प्रचण्डबीच सहमति भएसँगै दुबै पक्षमा देखिएको आशंका टरेको छ । समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम, तत्कालीन एमालेको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खेलेको भूमिका तथा तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना–जागरण ल्याउन र संगठित बनाउन खेलेको भूमिकाबारे दुई अध्यक्षबीच सहमति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एकतापछिको अवधिमा पार्टी विधान र नियमावली प्रकाशनमा आएका थिए। प्रतिवेदन नछापिँदा एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, इतिहासको मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा मतभेद बढेको थियो । अध्यक्षहरूबीच भएका पछिल्ला छलफलले दुवै पक्षमा आशंका चिरिदिएको छ।

प्रतिवेदनमा के छ  ?
नेकपाले पार्टीको राजनीतिक कार्यक्रम जनताको जनवाद हुने राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको छ । तर, उक्त कार्यक्रमको चरित्र जनताको बहुदलीय जनवादमा उल्लिखित विशेषतामा आधारित हुने गरी तय गरिएको छ। जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था र त्यसमा आधारित समाजवादप्रति प्रतिबद्ध रहने, विश्वव्यापी रूपमा स्वीकृत लोकतन्त्रका आधारभूत विषय, मानवअधिकार, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणलगायत विषयमा आधारित रहने गरी जनताको जनवादको कार्यक्रमलाई अथ्र्याउने प्रयत्न प्रतिवेदनमा गरिएको छ ।

‘सारतत्व एवं चरित्रको हिसाबले पनि नेपाली पुँजीवादी जनवादी क्रान्ति मौलिक छ। कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूको नेतृत्वदायी भूमिकामा सम्पन्न भएकाले नेपाली पुँजीवादी जनवादी क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन। यो समाजवाद उन्मुख जनताको जनवादका रुपमा स्थापित भएको छ’, प्रतिवेदनमा लेखिएको छ।

इतिहासको समीक्षाका सन्दर्भमा तत्कालीन दुवै पार्टीले कम्युनिस्ट आन्दोलनमा निर्वाह गरेको भूमिकाबारे पनि दस्तावेजमा उल्लेख छ। ‘एकातिर नेकपा (एमाले)को नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र वैधानिक संघर्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन तथा राष्ट्रिय– अन्तर्रा्ष्ट्रिय रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो भने अर्कोतिर तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र विभिन्न सांस्कृतिक समुदायका जनतामा राजनीतिक चेतना र जागरण ल्याउन तथा संगठित र आन्दोलित गर्न महत्वपूर्ण भूमिका खेल्यो’, दस्तावेजमा छ।

कुन पार्टी कस्ता ?

नेपाली कांग्रेसः पुँजीपति वर्गको प्रतिनिधित्व

नेपाली कांग्रेस नेपाली पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो। सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको नेतृत्व गर्ने अवसर पाए पनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली कांग्रेसले गरेको छ। त्यसैले अन्तर्रा्ष्ट्रिय एकाधिकार पुँजीवादसँग यसको घनिष्ठ एवं अन्योन्याश्रित सम्बन्ध छ । यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्ष्यमा बुझ्नुपर्छ । नेपाली कांग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारणबाट उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’को नारा औपचारिकता र ढोंगमा परिणत भएको छ। यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ।

राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको प्रवृत्ति बन्न पुगेको छ। वर्गीय, वैचारिक र राजनीतिक रूपमा कम्युनिस्ट आन्दोलन र सर्वहारा श्रमजीवी वर्गले प्रतिस्पर्धा गर्नुपर्ने मुख्य शक्ति भने नेपाली कांग्रेस नै हो।

समाजवादी पार्टीः संकीर्णता र अतिवादी
समाजवादी पार्टी नेपाल कतिपय बेला ढुलमुल देखिए पनि राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा तुलनात्मक रूपमा सही ढंगले उभिने गरेको छ। यसले समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई पनि सकारात्मक रूपमा आत्मसात् गरेको छ । जातीय, भाषिक र संघीयताको सन्दर्भमा यसको सोच र नीतिमा केही संकीर्णता र अतिवाद प्रकट हुने गरेका छन् ।

 

राष्ट्रिय जनता पार्टीः सामन्त र दलाल पुँजीपति वर्गको प्रतिनिधित्व
राजपा नेपाल जातीय, भाषिक र संघीयताको विषयमा अतिवादको पक्षपोषण गर्दछ। यसले मजदुर किसान, गरिब, सर्वहारा श्रमजीवी वर्गको हितको पक्षपोषण गर्दैन। बरु तिनका विरुद्धमा उभिने गर्दछ। राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा यसले आत्मसमर्पणवादी नीति अवलम्बन गर्ने गरेको छ। मूलतः यसले तराई–मधेसका बचेखुचेको सामन्त र दलाल पुँजीपति वर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्दछ।

 

अन्य कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूः जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित
नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेमकिपा र अन्य कम्युनिस्ट तथा वामपन्थी समूहहरूका पार्टीका जडसूत्रीय, संकीर्ण, आत्मकेन्द्रित चिन्तन, नीति र व्यवहारको आलोचना गर्दै उनीहरूलाई एकतामा सामेल गर्ने पहल र प्रयत्न अघि बढाउनुपर्छ । उनीहरूसँग राष्ट्रियता, लोकतन्त्र, समृद्धि र समाजवादका विषयमा कार्यगत एकता र सहकार्यको नीति लिइनेछ। तर, उनीहरूका गलत नीति र व्यवहारका विरुद्ध सैद्धान्तिक र वैचारिक संघर्ष गर्ने हाम्रो नीति स्पष्ट छ।

विप्लव नेतृत्वको नेकपाः उग्रवामपन्थी
नेत्रविक्रम चन्द समूहले उग्रवामपन्थी प्रवृत्तिको प्रतिनिधित्व गरिरहेको छ। नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै पुनः सशस्त्र संघर्षलाई तत्कालीन कार्यसूची बनाउने वकालत गरिरहेको छ। यो नेपालको आजको आवश्यकता र परिस्थितिसँग पटक्कै मेल नखाने काम हो । यसले ऐतिहासिक परिवर्तनलाई कमजोर पार्ने र यसलाई उल्ट्याउन तथा नेपालमा अस्थिरता उत्पन्न गर्न चाहने विभिन्न शक्ति तथा प्रवृत्तिलाई बल र्पुयाउने कार्य गर्दछ। यसको मनोगतवादी एवं उग्रवामपन्थी प्रवृत्तिको कडा आलोचना गर्दै यसलाई राजनीतिको मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्छ ।

 

राप्रपाः सामन्तवादी अवशेषको प्रतिनिधित्व
पूर्वपञ्चहरूको पार्टी राप्रपाका धारहरूले मूलतः सामन्तवादी अवशेषको प्रतिनिधित्व गर्दछन् । यी समूहहरूले हिन्दू राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजिरहेका छन् । अहिलेको निर्वाचनबाट राप्रपाका सबै समूहहरू जनताबाट पूरै अस्वीकृत भएका छन् ।

Loading...